काठमाडौं। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ। पाँचवटै वडाका कार्यालय भवन निर्माण गरिएको हो।
सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २० र २१ गते पाँचवटै वडा कार्यालयका भवन उद्घाटन गरेर औपचारिक रुपमा प्रयोगमा ल्याइएको छ।
वडा नम्बर १ को चराङ, २ को घमी, ३ को घिलिङ, ४ को सुर्खाङ र ५ को ताङग्यामा भवन निर्माण गरिएका छन्। वडा नं १ को भवन जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्यामो गुरुङले र अन्य भवन गाउँपालिका अध्यक्ष विष्टले उद्घाटन गरेका थिए।
उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०७५/७६ मा सुरु भएका वडा कार्यालयका भवन निर्माण यसै आवमा सकिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए।
स्थानीय डिजाइन र निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको भवन निर्माण गरिएको हो। भवनमा वडा अध्यक्ष, सचिव, सदस्य तथा बैठक कक्ष र सभाहल छन्। एक वडा कार्यालय भवन बनाउन रु ५० लाख देखि रु ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए।
भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्यचौकीबाट कार्यालय सञ्चालन गरिएको थियो। भवन बनेपछि सेवा प्रवाह र कार्यालय सञ्चालन गर्न सहज भएको चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताए।
चराङमा निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनको काम ६० प्रतिशत सकिएको छ। इमोटल कन्ट्रक्सन प्रालिले रु चार करोड २४ लाख ५८ हजारमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो।