स्याङ्जा। स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिकाअन्र्तगतको प्रगतीनगर–बहाकोट, नाम्चे–काल्खु कच्ची मोटरबाटो कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको झण्डै दुई दशकपछि उक्त सडक कालोपत्रे गरिने भएको हो
विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा हालको कच्ची सडक पक्की एवं फराकिलो बनाइने गरी प्रक्रिया अघि बढेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । ‘सडकको डीपीआरलगायत योजना छनोट गर्दा लामो समय लागे पनि योजना अब अगाडि बढ्ने निश्चित भएको छ,’ नगर प्रमुख रेग्मीले भने, ‘सडक निर्माण भएपछि पुतलीबजार र तनहुँको दुलेगौडासँग जोडिने छ ।’
पुतलीबजार नगरपालिकाका वडा नं. ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने छिमेकी वडाका बासिन्दाले समेत सडक उपयोग गर्नेछन् । प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा–भन्ज्याङ्, बहाकोट–नाम्चे–काल्खुसम्म ७ दशमलव ६ किलोमिटर लम्बाइमा पक्की सडकसहित नाली र टेवा पर्खाल रहने नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिए । दुई लेन सडकको चौडा सात मिटरको हुने उनले बताए ।
विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सम्पन्न हुनेछ । नगरपालिकाले सडक निर्माणका लागि टेण्डरसमेत खुलाई ठेक्काको प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार कार्यक्रमअन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा पक्की सडक बन्ने भएको हो । ग्रामीण कच्ची सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुँदा पीडा सहदै आएका स्थानीयबासी सडक कालोपत्रे हुने भएपछि खुशी भएका छन् ।
पुतलीबजार नगरपालिका र विश्व बैंकका प्रतिनिधिसहित सरोकारवालाको समूहले पनि यसअघि स्थलगत निरिक्षण गरी स्थानीयबासीसँग छलफल गरेको थियो । सडक विस्तार हुँदा केही भौतिक संरचना र मठमन्दिर हटाउन पर्ने भएपछि नगरपालिकाले स्थानीयसँग समन्वय गरेको छ । सडक कालोपत्रे हुने भएपछि त्यस क्षेत्रका पर्यटकीय स्थलको संरक्षण र पहिचानमा समेत टेवा पुग्ने वडाध्यक्ष इमबहादुर सेनले बताए । उनका अनुसार बहाकोटमा स्थापित होमस्टे र धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको छ । कारोबार दैनिकबाट