बागलुङ। झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को अग्लो र लामो पुल निर्माण सम्पन्न भएको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदिमाथि ५२३ मिटर लामो झोलुंगे पुल निर्माणको काम सकिएको हो ।
सात करोड लागतमा निर्माण सम्पन्न भएको पुलले बागलुङ नगरपालिका–४ गौरिधाम र पर्वतको जलजला गाउँपालिका–८ ओडारेलाई जोड्नेछ । गत जेठ महिनामा दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि वर्ष दिनको अवधिमा निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माणाधीन पुल निर्माणको जिम्मा हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो ।
निर्माण कार्य सम्पन्न भएपछि पुल हस्तान्तरणको तयारीमा रहेको निर्माण कम्पनीले जनाएको छ । कम्पनीले यस अगाडि बागलुङकै रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्नेगरी बनेको ९गण्डकी गोल्डेन ब्रिज० निर्माणको काम सम्पन्न गरेको थियो । एसियाकै सबैभन्दा लामो ५६७ मिटर लामो झोलुंगे पुल निर्माणको काम पनि सम्झौता अवधिभन्दा एक वर्ष अगाडि सम्पन्न भएको थियो ।
सम्झौता अवधिभन्दा एक वर्ष पहिले नै निर्माण कार्य सम्पन्न भएको हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । ‘हामीले कामलाई गुणस्तरीय र छिटो गर्ने प्रयत्न गरेका छौं,’ खड्काले भने, ‘समयमै काम सम्पन्न गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं, दिनरात नभनी कामलाई निरन्तरता दियौं ।’ पुल निमाणको काम सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको छैन । दुई जिल्ला जोड्ने यस पुलको निर्माणले पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक स्तर उकास्नका लागि पनि सहयोग पुग्ने छ ।
बागलुङ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पुल सहयोगी बन्ने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पहुँच पुग्ने गरी पुल निर्माण गरिएको श्रेष्ठले बताए । जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुस्माबजार पुग्ने गरे पनि अन्य व्यापारिक, व्यावसायिक तथा दैनिक कामका लागि भने बागलुङ बजार आउने गरेका छन् ।
बागलुङ नगरपालिका नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले कृषि क्षेत्रको व्यवसायीकरण तथा पर्यटनको क्षेत्रको विकासमा यसले महत्वपूर्ण फाइदा पुग्ने बताए । बागलुङ बजारबाट जलजला पुग्न पैदलमार्गमार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि १५ मिनेटमा नै पुगिने छ । जलजलाको नागलिवाङका किसान आफूले फलाएको फलफूल तथा तरकारी बिक्रीका लागि डोकोमा बोकेर बागलुङ बजार आउने गर्दथे ।
बागलुङ बजारको विद्यामन्दिरको कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई जलजलाबाट हिँडेर बागलुङ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने बताए । पुल निर्माणसँगै कोठा लिएर बागलुङ बजार बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर छेवैमा पुल बनेकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । कारोबार दैनिकबाट