काठमाडौं। जर्मनी तथा युरोपेली युनियनका अधिकारीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट को नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैङ्क (केएफडब्लु) का प्रतिनिधि सम्मिलित अधिकारीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमनमा गरेका हुन्।
त्रिशूली थ्री बी हब सबस्टेसन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत् प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माणसम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावनालगायतका विषयमा छलफल गरेको छ।
टोली प्रमुख गिजेला ह्याममरस्मिटले नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरे।
आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०र३२र३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । साथै चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैङ्कको अनुदान छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैङ्क (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।