दोलखा। विगू गाउँपालिका–५ बुलुक्पामा रहेको ज्याङछुप मेन्दोग गुम्बा ६ करोड रुपैयाँमा पुनर्निर्माण भएको छ । ९२३ वर्ष पुरानो गुम्बा भूकम्पले भत्किएपछि पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । साविक चिलंखा गाविसको जंगलको बीचमा रहेको गुम्बा पुनर्निर्माणपछि नियमित सञ्चालनको प्रबन्ध मिलाइएको स्थानीय अगुवा निम्तो शेर्पाले जानकारी दिए।
‘ऐतिहासिक गुम्बा हालको स्थानभन्दा तीन सय मिटर तल भीरमा रहेको थियो,’ उनले भने, ‘त्यही आसपासमा ध्यान गर्ने गुफा, माने र पोखरी पनि थिए तर जंगलमा आगोलागी हुँदा गुम्बा र गुफामा पनि डढेलोले नष्ट भएका थिए ।’ जंगलमा पुरानो गुम्बा र गुफाको भग्नावशेष अझै पनि देख्न सकिन्छ । वर्षौंअघि जंगलको बीचको भीरमा गुम्बा बनाएर बसेको ठाउँलाई टक्चेन गुम्बाको रूपमा चिनिन्छ । जंगलमा आगलागीसँगै लामा र आनीहरू हिँडेपछि स्थानीयले नै तत्कालीन अवस्थामा रहेको मूर्ति लगेर हालको स्थानमा स्थापना भएको शेर्पाले बताए ।
पुराना मूर्ति भने अहिले चोरी भएकाले नयाँ बनाएर स्थापना गरिएको उनले बताए । २०७२ को भूकम्पले गुम्बा भत्किएरपछि पुरातत्व विभागमार्फत पुनर्निर्माण गरेको हो । पुनर्निर्माणका लागि पुरातत्व विभागले चार करोड ३८ लाख हजार लगानी गरेको छ भने बाँकी स्थानीयस्तरबाट सहयोग जुटाएर पुनर्निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । वर्षौं पुरानो गुम्बा भएको सिलालेख, ओखलसमेत प्रमाणको रूपमा रहेका छन् ।
ऐतिहासिक गुम्बा भएकाले यसको पुरानो टक्चेन गुम्बासम्म पुग्ने बाटो सुधार, भग्नावषेशलाई संरक्षणसमेत गर्ने अध्यक्ष शेर्पाले बताए । गुम्बाट बुलुक्पा गाउँभन्दा एक घण्टामाथि जंगलमा पर्छ । बुलुक्पा चिलंखाको सबैभन्दा अन्तिम गाउँ हो । गुम्बाबाट नेपाल र तिब्बतीयन सेनाबीच युद्ध भएको ऐतिहासिक ठाउँ थोपाडाँडा पुग्नसमेत नजिक छ । थोपाडाँडामा १२ सय वटा सेना जस्तै ढुंगा उभ्याएकाले १२ सय पल्टन भनेर चिनिन्छ ।
गुम्बासम्म विगू गाउँपालिकाले सडक पुर्याएको छ । गुम्बा नियमित पूजापाठका लागि काठमाडौंको सेतो गुम्बासँग सहकार्य गरेको छ । ध्यान जप गर्नका लागि एकान्त ठाउँ भएकाले थप संरचना निर्माण गरी गुफा बनाउने तयारी छ । विगू गाउँपालिका–५ का वडाध्यक्ष काले शेर्पाले १२ सय पल्टन र ऐतिहासिक गुम्बालाई जोडेर धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताए । पुनर्निर्माणपछि छोकी ङिमा रिम्पोछेबाट उद्घाटन भएको छ । दोलखाका चर्चित विगूको र लप्ची गुम्बाभन्दा पुरानो रहेको स्थानीयको दाबी छ । कारोबार दैनिकबाट