काठमाडौं। सुपर त्रिशूली जलविद्युत् आयोजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। ब्लु इनर्जी प्रालिले नुवाकोटको बट्टारमा पर्ने त्रिशुली नदीमा अघि बढाएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको हो।
आयोजनाले उत्पादन गर्ने भनिएको १०० मेगावाट विद्युत् उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले बुधबार दायर गरेको उक्त रिटमा विद्युत् उत्पादन गर्नेगरी विसं २०७४ साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ।
नुवाकोटको देवीघाटबाट चितवनको देवघासम्मको त्रिशुली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा र त्रिशुलीलगायत नदीलाई प्राकृतिक व्यक्तिसरह अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ।
रिटमा आयोजनाको ईआईए प्रथमपटक विसं २०७३ चैत १० मा, परिमार्जित विसं २०७४ असार ५ मा बुझाएको तथा उक्त ईआईएलाई विसं २०७४ साउन ३ मा जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गत सचिवस्तरको निर्णयबाट स्वीकृत भएकाले ईआईए बदर गर्न माग गरिएको छ।
त्रिशुली नदीमा भएको बहाव, जैविक विविधता, जलचरको बासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिकरूपमा सम्मान गर्दै आइएको त्रिशुलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।