पर्वत। पर्वतको दक्षिण क्षेत्रलाई जोड्ने मुख्य मुडिकुवा–झकलक–लमाय सडक खण्ड जीर्ण भएपछि त्यस भेगका बासिन्दालाई सास्ती भएको छ । स्थानीय सडक मर्मत गर्न माग गरेका छन् । मुडिकुवा–झकलक–लमाए सडक खण्डको सात किलोमिटर सडक जीर्ण भएको हो । उक्त सडक खण्ड फलेवास नगरपालिकाभित्र पर्दछ ।
सडकको कालोपत्रे उक्किएको छ । व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने डर छ । सडक खण्डमा ठुल्ठूला खाल्डा छन् । पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ । सडक कालोपत्रे भएको पाँच वर्ष भयो । हालसम्म मर्मत सम्भार छैन । उक्त सडक खण्डमा वर्षनी दुर्घटनाका घटना बढ्न थालेपछि स्थानीय सशंकित भएका छन् । सडक जीर्ण भएपछि स्थानीयले मर्मतका लागि माग गरेका छन् ।
विगतका वर्षायाममा आवागमनमा बढी समस्य भए पनि हाल हिउँदैमा पनि सास्ती हुने गरेको मुडिकुवा–४ का चिन्तामणि पौडेल बताए । उनले सडक अधिकाँश ठाउँमा भत्किएकाले तत्काल मर्मत गर्नुपर्ने माग राखे । ‘यो सडक जिल्लाका चार पालिका जोड्ने सडक हो । तर निर्माण भएको लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण अवस्थामा छ । यसले गर्दा आवातजावतमा समस्या भएको छ,’ पौडेलले भने ।
स्थानीय भीमबहादुर क्षेत्री लम्सालले सडक खण्डको धेरै ठाउँ भत्किएकाले दुर्घटना जोखिम बढेको बताए । ‘मुडिकुवाको घुम्तीदेखि लमायखोलासम्मको सडक निकै भत्किएको छ । तीव्र गतिका सवारीसाधन खाडल छल्ने क्रममै दुर्घटना पर्दछ,’ क्षेत्रीले भने, ‘सम्बन्धित निकायले मर्मत कार्यमा ध्यान नदिँदा सडकको दूरावस्था जस्ताको त्यस्तै छ ।’ उनले तत्काल मर्मत नगरेर उक्त सडक खण्डमा थप दुर्घटना बढ्ने सक्ने जिकिर गरे ।
अस्थायी प्रहरी पोष्टका अनुसार उक्त सडक खण्डमा वर्षेनी १२ वटासम्म सडक दुर्घटना भएको तथ्यांक छ । फलेवास नगरपालिका मेयर गंगाधर तिवारीले उक्त सडक खण्ड मर्मत सम्भारका लागि पहल भइरहेको बताए । सडक मर्मतका लागि विभिन्न निकायमा पुगेको बताउँदै यसै आर्थिक वर्षमा मर्मत गर्ने जिकिर गरे ।
‘यो सडक खण्ड अत्यन्तै जीर्ण अवस्थामा गुज्रिएको छ । यसै आर्थिक वर्षभित्र मर्मत गर्न सके वर्षायाममा कम क्षति हुने थियो,’ उनले भने । उक्त सडक स्थानीय विकास मन्त्रालयको ग्रामीण पुनर्निर्माण तथा पुनःस्स्थापना आयोजना (आरआरआरएसडीपी) को १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो। कारोबार दैनिकबाट