काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको सम्पूर्ण काम वैशाख पहिलो हप्ताभित्र सम्पन्न हुने बताएका छन्।
जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट को नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैङ्क (केएफडब्लु) का प्रतिनिधि सम्मिलित अधिकारीलाई आयोजनाको स्थलगत अनुगमनका क्रममा घिसिङले यस्तो बताएका हुन्।
उनले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ताभित्र निर्माणसम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेको टोलीलाई जानकारी गराए।
आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०र३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । साथै चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैङ्क (केएफडब्लु) को अनुदान छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैङ्क (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।
प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँचमार्ग निर्माण गरिएको छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।