काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेको छ।
सोमबार एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसँगको भेटमा प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन आग्रह गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरेका हुन् ।
नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए।
घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चिता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराए।
प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको छ।