बिर्तामोड। दक्षिणी झापाको बाह्रदशी गाउँपालिकाका सातवटै वडाका सडक कालोपत्रे गरिएको छ । बाह्रदशी गाउँपालिकाका टोलटोलसम्म कालोपत्रे सडक पुर्याउने उद्देश्यले सबै वडामा कालोपत्रे सडक पुर्याइएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवीन्द्रप्रसाद चम्लागाईंले जानकारी दिए ।
बाह्रदशी गाउँपालिकाले सातवटै वडामा ५–५ सय मिटर कालोपत्रे गर्ने कामका लागि ४०–४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । बाह्रदशी गाउँपालिकाको वडा नं.२ र ३ को सीमामा पर्ने राजगढ बजारस्थित राजवंशी चोकदेखि पश्चिम मोटापानी जाने सडकमा कालोपत्रे गर्ने कार्य सकिएसँगै वडा–वडामा निर्माण गर्ने भनिएको कालोपत्रेको काम सकिएको हो ।
बाह्रदशी गाउँपालिका–१ मा नयाँ वडा कार्यालय जाने बाटो, वडा नं. ४ मा चकचकी बजारदेखि दक्षिण बागा बस्ती जाने बाटो, वडा नं. ५ मा फूलबारी पूर्व घोडामारा जाने बाटो, वडा नं. ६ मा बाह्रदशी डाँडा पूर्व जाने बाटो र वडा नं।७ मा डाँगीबारी बजार पश्चिम खोला जाने बाटो कालोपत्रे सम्पन्न गरिएको अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
यस्तै, प्रदेश सरकारमार्फत वडा नं. ६ मा खाती चोकबाट बिहीबारे बजार जाने पाँच सय मिटर सडक कालोपत्रे गरिएको छ । वडा नं. ४ मा शिवालय मन्दिर पूर्व घाग्राखोला जाने सडकमा कालोपत्रे गर्ने काम पूरा भएको उनले बताए । केन्द्र सरकार, प्रदेश र गाउँपालिकाको लगानीमा वडा नं. ७ स्थित डाँडागाउँबाट कनकाई जोड्ने १५ सय मिटर सडकमा कालोपत्रे गरिएको उनको भनाइ छ । प्रदेश सरकारको लगानीमा बाह्रदशी गाउँपालिकाको ६ वटा सडक कालोपत्रे निर्माणका लागि ठेक्का लागिसकेको उनले बताए ।
बाह्रदशी गाउँपालिका–६ मा बिहीबारे चोकबाट सिर्जना चोक हुँदै राजगढ जाने एक किमि सडक, वडा नं. ६ कै मोतीगडा सिमलचोक हुँदै हिमाली सडक जोड्ने सडक, वडा नं. ७ को मिलन मार्ग–सिमलचोक हुँदै डाँगीबारी जाने ९५० मिटर सडक, फूलबारीबाट राजगढ जाने १.५० किमि सडक, वडा नं.६ को कुमाई गाउँबाट डाँगीबारी जाने सडक र वडा नं. ५ को शिवालय मन्दिरबाट पिपल चोक जाने सडक कालोपत्रेका लागि ठेक्का लागिसकेको अध्यक्ष चम्लागाईंले जानकारी दिए । कारोबार दैनिकबाट