जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले सुरुदेखि नै खानेपानीको विकासमा पर्याप्त लगानी गर्न थालेपछि हिमाबासीको दिनचर्या फेरिएको छ । एक गाग्री पानी ल्याउन खोलामा पुग्नुपर्ने, घण्टौं लाइन कुर्नुपर्ने, सिँचाइ त परै जावस पिउन, सरसफाइ गर्नसमेत दैनिक पानीको अभाव झेल्दै आएका हिमा गाउँपालिकाका घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयको दिनचर्या फेरिन थालेको हो ।
मानव जीवनको अभिन्न अंग र आधारभूत आवश्यकताका रूपमा रहेको खानेपानी विकासमा हिमा गाउँपालिका र त्यहाँ सञ्चालित सुष्वा परियोजनाले मोटो रकम लगानी गरेपछि एक दर्जन बढी गाउँमा एक घर एक धारा पुगिसकेको छ भने पाँच वर्षमा हिमाका सातवटै वडाका २१ वटै बस्तीमा शुद्ध खानेपानी धारा पुर्याउने पालिकाले लक्ष्य लिएको छ ।
खोला, नदीको पानी पिउँदै करिब पाँच दशक बिताइसकेकी हिमा–५ बाजागाड गाउँकी छुमकली रावत आँगनमै धारा पुग्दा दंग छन् । खोलाकै दुषित पानी पिउँदै र बोक्दै दशकौं बित्यो । स्रोत भएर पनि गाउँमा धारा नहुँदा पानीका दुःख थिए । उनी भन्छिन्, ‘ढिलै भए पनि आँगनमै धारो पुग्यो । आधी जीवन खोलाकै पानी पिएर गइसक्यो । अब केही सुविस्ता हुने भयो । छोरा नातिले पानीको दुःख नभोग्या भए ।’
छुमकलीजस्तै हिमा गाउँपालिका विभिन्न गाउँका सयौं नागरिक घर आँगनमा धारा पुग्दा उत्साहित छन् । सुष्वा परियोजना र हिमा गाउँपालिकाको लगानीमा हिमाका नौ गाउँका ७७६ घरधुरीमा एक घर एक धारा निर्माण भएका छन् । जसमा सुष्वा परियोजनाको लगानीमा बाँजागाडा गाउँमा १३६ घरधुरीमा ७६ लाख बढीको लगानीमा एक घर एक धारा निर्माण भएका छन् भने वडा नं।१ बड्की गाउँका १६६ घरधुरी र वडा नं। ६ को डाडाबाडा गाउँका ७४ घरधुरीमा एक घर एक धारा पुगेको सुष्वा परियोजना संयोजक सुमित्रा शाहीले बताइन् । उनका अनुसार तीन गाउँका दुई हजार ४१९ जनसंख्या आयोजनाबाट लाभान्वित भएका छन् ।
त्यस्तै हिमा गाउँपालिकाको आफ्नै लगानीमा पाँच वर्षभित्र सात वडाका २१ वटै बस्तीमा एक घर एक धारा निर्माण गर्ने लक्ष्य लिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनका अनुसार बितेको एक वर्षमा मात्रै हिमा–४ का सानो चिउडी गाउँका २६ घरधुरी, खेतुका ८३, सिम्तलीका ५८, जार्जीका ८४, तलिकुडुका १२८ घरधुरीमा र वडा नंं ७ को ठूलो चिउडीका ८३ घरधुरीमा एक घर एक धारो पुगेको छ ।
हिमाका ३७६ घरधुरीमा एक घर एक धारो पुर्याउन सुष्वा परियोजनाले झण्डै दुई करोड ३६ लाख बढी बजेट खर्चिएको छ । जसमा बाजागाडा गाउँमा ७५ लाख रुपैयाँ, बड्की गाउँमा एक करोड ११ लाख रुपैयाँ र डाडाबाडा गाउँमा १६ लाख रुपैयाँ खानेपानी विकासका लागि लगानी गरेको छ भने हिमा गाउँपालिकाले पनि खानेपानी विकासमा लगानी बढाएको छ ।
पालिकाका सबै बस्तीमा एक घर एक धारा पुर्याउन चालु आवमा तीन करोड ७६ लाख लागतको बृहत् हिमा खानेपानी आयोजना निर्माण गर्न थालिएको अध्यक्ष शाहीले जानकारी दिए । उनले भने, ‘पाँच वर्षमा पालिकालाई खानेपानीयुक्त पालिका बनाउने सोचका साथ खानेपानी विकास परियोजना र पालिकाको लगानी बढाउँदै छौं । हरेक वर्ष खानेपानीमा प्राथमिकता हुन्छ । खेर गएको पानीको प्रयोग हुने, मुहान संरक्षण हुने, नागरिकले सुविधा पाउने अपेक्षासहित खानेपानी विकासमा लागेका छौं ।’
वातावरण संरक्षण बिना खानेपानी विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिने भन्दै हिमाले ग्रिन रिभर, ग्रिन हिमाको नीतिअन्तर्गत दुई लाख ५० हजार बिरुवा रोप्ने अभियान थालेको छ। कारोबार दैनिकबाट