दाङ। लुम्बिनी प्रदेश सरकारले दाङमा सडक तथा पुल निर्माणका लागि करिब १ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको लुम्बिनी प्रदेश सडक पूर्वाधार विकास कार्यालय दाङले जानकारी दिएको छ। उक्त जिल्लामा सडक, पुल निर्माण तथा मर्मत सुधार कार्यक्रमका लागि आर्थिक वर्ष ०७८/७९ मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले जनाएको छ।
यसैगरी सडक तथा पुल निर्माणका लागि ९० करोड १७ लाख, संघको ससर्त अनुदानतर्फ पुल निर्माणका लागि २ करोड ४० लाख र सडक पुल मर्मत, सुधार तथा सडक सुरक्षा कार्यक्रमअन्तर्गत ४ करोड ३८ लाख ३० हजार गरी ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ छुट्याइएको प्रदेश पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ। त्यस्तै प्रदेश क्षेत्रस्तरीय योजनाअन्तर्गत बखरिया–सरुवाडाँडा– गोल्टाकुरीको १२ किमि सडकका लागि ८ करोड रुपैयाँ विनियोजन भएको छ। उक्त सडक बहुवर्षीय योजनामा रहेकाले कुल १५ करोड रुपैयाँमा सम्झौता भएको हो।
सो सडक निर्माणको काम जलजला निर्माण सेवाले गरिरहेको छ। सो क्षेत्रमा नयाँ र पुराना गरी १२८ वटा र मर्मतका १२२ गरी वटा २५० बढी आयोजना रहेका छन्। दुर्गम क्षेत्रलाई सुगमसँग जोड्न बबई गाउँपालिका वडा नम्बर १ को विकट क्षेत्रमा २३८ मिटर लम्बाइको बाटुले धोपघाट जोड्ने झोलुंगे पुल निर्माण हुन लागेको छ। सो पसल टेन्डर भएर पनि सम्झौता भइसकेको छ। उक्त पुल निर्माणको लागि१ करोड ३० लाख बजेट विनियोजन भएको छ। न्हु छिरिछ एससी जेवीले २ वर्षमा सक्ने सर्तका साथ सो पुल निर्माणको जिम्मा लिएको छ। विनियोजित बजेटमा पुराना योजना र नयाँ योजना दुवै समावेश गरी काम अघि बढाइएका छ।
निर्माणाधीन ८ सडक तथा पुल निर्माण कार्यक्रम, संघको ससर्त अनुदानमा ४ वटा पुलका लागि २ करोड ४० लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ। यसैगरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा ४ वटा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ। हाल प्रदेश सडक पूर्वाधार कार्यालयले सडक मर्मतसम्भार समूहका रूपमा काम अघि बढाउन ६६ जनालाई ९ वटा सडक योजनामा खटाएको सूचना अधिकारीले जानकारी दिएका छन्।
सडकसम्बन्धी योजनामा नयाँ सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, नयाँ सडकको ट्रयाक खोल्ने, सडक विस्तार, ग्राभेलसँगै कतिपय ठाउँमा सडक कालोपत्रे गर्ने योजना रहेको जनाइएको छ।