दोलखा। चरिकोटबाट कालिञ्चोक जाने चरिकोट–देउराली सडक आउँदो वैशाखसम्म कालोपत्रे पूरा हुने भएको छ । यो सडकमा कालोपत्रे भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुने भएको छ । सडक ट्रयाक खुलेको ३० वर्षपछि सडक विस्तार गरी कालोपत्रे गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत विस्तार भइरहेको सडकको काम अन्तिम चरणमा पुगेको छ ।
सडकको बाल, नाली, कल्भर्ट लगायतका पूर्वाधारका सम्पूर्ण संरचना पूरा गरी अहिले कालोपत्रेको काम सुरु भएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर प्रतीक पौडेलले सडकको समग्रमा ८० प्रतिशत बढी प्रगति भएको छ । सडक ग्रेडिङ गरी सबबेसको काम पूरा भएको छ भने बेस बिच्छ्याउने काम करिब एक किलोमिटरमात्रै बाँकी छ । त्यो पनि केही दिनमा पूरा हुने उनले बताए ।
देउरालीदेखि सुरु गरेको कालोपत्रे अघिल्लो जेठमै एक किलोमिटर पूरा भएको छ । सबै काम पूरा भएकाले कालोपत्रेको काम सुचारु गर्न सबै तयारी पूरा भएको छ । ‘१५ दिनअघि नै कालोपत्रे सुचारु गर्ने गरी तयारी थियो,’ इन्जिनियर पौडेलले भने, ‘पानी परेकाले सबै काम रोकियो, पानी रोकिएर राम्रोसँग घाम लागेपछि कालोपत्रे सुचारु हुन्छ ।’ सडक साढे पाँच किलोमिटर छ । यसको चौडाइ साढे ६ मिटर छ । यसले दुईतर्फी सहजै गाडी आवतजावत गर्न सक्छ ।
सडक कालोपत्रे गरिसकेपछि रङोगन, ट्राफिक चिन्ह राख्ने काम हुन्छ । मौसमले साथ दिए एक महिनाभित्र कालोपत्रे पूरा गरी वैशाखभित्रै सडकको सम्पूर्ण काम सकिने उनले विश्वास लिए । १८ महिनामा पूरा गर्ने गरी २०७९ भदौ २ गते जय धनन्जयरगणेश कुण्ड भुजेल जेभी ओखलढुंगाले लिएको ठेक्का २०८० फागुनमा पूरा गर्नु पथ्र्यो । निर्माण व्यवसायीका प्रतिनिधि सुदीप सुनुवारले समयमा साइट क्लियर २०८० साउनदेखि मंसिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए ।
‘ठेक्का सम्झौताअनुसार १८ महिना भए तापनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामको गति दिएका थियौं,’ निर्माण व्यवसायी सुनुवारले भने, ‘सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नु पर्यो, क्रसर बन्दले निर्माण सामग्री पाएनौं ।’ सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका–६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युतका पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम नै ढिला भएको निर्माण व्यवसायीले बताए ।
ढल विकासको कामले पनि सडकको सतह नै विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको १७ करोड ३५ लाख रुपैयाँमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको छ । पूर्वनिर्धारित डिजाइनअनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ । सम्झौता अनुसारको समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान बनाउन महत्वपूर्ण हुने बताए । चरिकोटबाट कालिञ्चोक जाने सडक राम्रो नहुँदा मकैबारीबाटै पर्यटक कालिञ्चोक जाने गरेका छन् । चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनु पर्ने माग गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ । तर निर्माण व्यवसायीको ढिलासुस्तीको कारण ठेक्काको म्याद पटकपटक थप हुँदासमेत कालोपत्रे र ढलानको काम पूरा हुन सकेको छैन । कारोबार दैनिकबाट