खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन गरिएको छ ।
गाउँपालिकाको डाडाँगाउँस्थित ओख्रेको स्वास्थ्य चौकी भवनमा आइतबार आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम संविधानसभा सदस्य हरि रोकाले एकैसाथ उद्घाटन गरेका हुन् । आधारभूत अस्पतालमा एक जना मेडिकल अधिकृत डा।मन्दीप उप्रेती, ल्याब असिष्टेन्ट जेनिशा राई र एकजना स्टाफ नर्स कार्यरत छन् । अस्पतालमा प्रत्येक बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा र चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालन हुने छ ।
मेडिकल अधिकृत डा.उप्रेतीका अनुसार अस्पतालमा ल्याब सेवाअन्तर्गत रगत, खकार, दिसापिसाब, एचआईभी एड्सको जाँच गरिने छ । गर्भवती महिलाले लिने सेवा सुविधालगायत मौसमी बिरामीको समेत उपचार गरिने छ ।
आधारभूत अस्पताल उद्घाटन, कार्यरत एकजना डाक्टर, एकजना ल्याब असिष्टेन्ट, एकजना स्टाफ नर्सलाई तलब, हेल्लो डाक्टर कार्यक्रमलाई आवश्यक पर्ने मेसिनरी सामान खरिद, औषधि खरीदलाई ३० लाख बजेट छुट्ट्याइएको गाउँपालिकाले जनाएको छ ।
हेल्लो डाक्टरअन्तर्गत उक्त गाउँपालिकाको सात वडाका सर्वसाधारणलाई स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरी बिरामी जहाँ छन् त्यही स्वास्थ्यकर्मी उपचार गर्ने कार्यक्रम हो । यो कार्यक्रम आर्थिक वर्ष २०८०।०८१ को भदौ १ गतेदेखि सुरु भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
‘हेल्लो डाक्टर’का स्वास्थ्यकर्मीले प्रेसर जाँच, वाफ लगाउने, टाँका लगाउने, स्लाइन दिने, शरीरमा अक्सिजनको मात्रा हेर्ने, आवश्यक परेमा अक्सिजन दिने, औषधि वितरणजस्ता स्वास्थ्य सेवा दिने छन् । यसअन्तर्गत गत भदौ १ गतेदेखि हालसम्म एक हजार चार सय २० जनालाई ‘हेल्लो डाक्टर’को स्वास्थ्यकर्मीहरुले घर–घरमै गएर स्वास्थ्य सेवा दिइसकेको अहेव सुरेश प्रधानले बताए। कान्तिपुरबाट