काठमाडौं। आमसञ्चार माध्यमले भूकम्पपछिको पुनःनिर्माणलाई महत्वका साथ प्रचारप्रसार गरेकैले पुनःनिर्माणको छ वर्षे अवधिमा लगभग ९० प्रतिशत प्रगति भएकामा जोड दिइएको छ। भूकम्पपछिको पुनःनिर्माणका क्रममा प्राप्त अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई हस्तान्तरण गर्न आयोजित सम्मेलनका क्रममा विज्ञले यस विषयमा जोड दिएको हो।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलनको पुनःनिर्माणमा सञ्चार माध्यमको भूमिका विषयक सत्रमा वक्ताले आलोचनात्मक विषयवस्तु सार्वजनिक गरेर सञ्चारजगतले भूकम्पपछिको पुनःनिर्माण सफल बनाउन सहयोग गरेको जानकारी दिए।
संविधान निर्माण र भूकम्पपछिको पुनःनिर्माणको समाचार सञ्चारमाध्यममा सँगसँगै आएकाले पनि निजी आवासलगायत भूकम्पले क्षतिग्रस्त संरचना छिटो निर्माण गर्न सहयोग पुगेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताए।
विगत चार वर्षदेखि प्राधिकरणको सञ्चार विशेषज्ञका रूपमा काम गरेका कसमस विश्वकर्माले भूकम्पपछिको पुनःनिर्माणका समाचार अझै मेहेनतका साथ खोजेर लेख्ने समय बाँकी नै रहेको जानकारी दिए।
यही अवसरमा प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छ वर्षे पुनःनिर्माण अवधिमा सञ्चारमाध्यममा आएका समाचारका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो।
सम्मेलनमा कार्यपत्र प्रस्तुति सत्र सकिएको छ। विभिन्न २० वटा सत्रमा निजी आवास, स्वास्थ्य संस्था, विद्यालय, सरकारी भवन, पूर्वाधार, सांस्कृतिक सम्पदालगायत सत्रको आयोजना गरिएको थियो।