पर्वत। गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक गौरवको योजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्रे गर्न थालिएको छ । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकदेखि सल्यान खण्डमा शनिबारदेखि कालोपत्रे गर्न थालिएको हो । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्यानदेखि मिलनचोकतर्फ कालोपत्रे गर्न सशरु गरिएको जनाएको छ ।
निर्माण कम्पनीका आयोजना व्यवस्थापक दिपेन्द्र श्रेष्ठले मिलनचोकदेखि सल्यानसम्म ३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको बताए । उनका अनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रे गर्ने काम सकिने छ । धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र नै कालोपत्रे गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।
मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न वि.स. २०७६ मंसिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक वि।सं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर फराकिलो र नाली निर्माण गर्ने कामले गत मंसिर महिनादेखि तीव्रता पाएको थियो ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सडक कालोपत्रे हुन थालेपछि स्थानीयबासी उत्साही भएको बताए । निर्माण कम्पनीका प्रतिनिधिसमेत रहेका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभाव र सामाजिक समस्याका बाबजुद नोक्सान बेहोरेर भए पनि सडक निर्माणको जिम्मेवारी पूरा गर्न लागेको बताए ।
निर्माण कम्पनीलाई धरौटी जफत गरी ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । यो सडक धाइरिङका एक हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ । कारोबार दैनिकबाट