गुल्मी। गुल्मी र प्यूठान जोड्ने छोटो दूरीका रूपमा हेरिएको ‘सिमलटारी–सौतामारे–मच्छी’ सडक निर्माणमा ढिलासुस्ती भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत ‘सिमलटारी–सौतामारे–मच्छी’ सडकको कालोपत्रे काममा ढिलासुस्ती भएको हो । हाल सडकको १६ किलोमिटर क्षेत्रअन्तर्गत सौतामारेसम्म निर्माण कार्य भइरहेको छ ।
सिमलटारीदेखि सौतामारेसम्म सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्य भइरहने पनि निर्माण ढिलासुस्ती भएको हो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माका अनुसार सडक निर्माण कार्य सुरु गरेको एक वर्ष बितिसक्दा पनि २० प्रतिशतमात्रै काम भएको छ ।
उनका अनुसार, सडकको प्रगति हेर्दा सडक समयमैसम्पन्न हुनेमा शंका देखिन्छ । सडकको निर्माण कार्यलाई तीव्र बनाउन र गुणस्तीय काम गराउन सरोकारवाला पक्षबाट निरीक्षण गरिएको छ । केही समयअघि यस सडकको सांसद गोकर्ण विष्टलगायत जिल्लाको सरोकारवाला टोलीले अनुगमनसमेत गरेका थिए ।
सांसद विष्टले वर्षाको समय अगाडि सडकको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने कार्य सम्पन्न गर्नुपर्ने प्रस्ताव निर्माण व्यवसायीसँग राखेका थिए । सडकको चौडाइ बढाउनका लागि पनि आग्र गरे । निर्माणको क्रममा रकमलगायत अन्य समस्या बारे आफूले सहजीकरण गर्ने भन्दै विष्टले कामको गति बढाउन निर्माण व्यवसायीलाई आग्रह गरे ।
गुल्मी खण्डको तम्घास सिमलटारीसम्म २९ किलोमिटर सडक चार वर्ष पहिले नै कालोपत्रे गर्ने कार्य सम्पन्न भएको थियो । तर, सिमलटारीदेखि गुल्मी र प्यूठानको सिमाना सौतामारेसम्म सडक स्तरोन्नति र कालोपत्रे हुन सकेको थिएन । समयमै सडक निर्माण नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने सवारीसाधन र यात्रुले सास्ती खेप्नु पर्ने अवस्था रहेको छ ।
मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माण कार्य गर्दै आएको छ । सडकको एक अर्ब ४५ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको इन्जिनियर शर्मिला शर्माले बताइन् । कात्तिक २०७९ मा सम्झौता भएको सडकको साउन २०८२ सम्पन्न गर्ने गरी म्याद रहेको छ ।
सडकको हालसम्म २० प्रतिशतमात्र भौतिक प्रगति र १२ प्रतिशतमात्र वित्तीय प्रगति भएको छ । सडकको ७।७५ चौडाइ कालोपत्रे गरिँदै छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डअन्तर्गत रिडी तम्घास खण्डमा पनि समान्तर इलाइट जेभीले सडक कालोपत्रे गर्न चौडा पार्ने काम गर्दै आएको छ । कारोबार दैनिकबाट