खोटाङ। अब दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभिरमा पनि रक क्लाइम्बिङको मज्जा लिन पाइने भएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रको मझुवाभिरमा रक क्लाइम्बिङको सफल परीक्षणछि यसमा रमाउन चाहनेहरूका लागि अवसरको ढोका खुलेको हो ।
खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले रक ब्लाइम्बिङ सञ्चालनको सुरुवात गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । रक क्लाइम्बिङ सञ्चालनपछि देश–विदेशका रक क्लाइम्बिङका पारखीहरूको ध्यान केन्द्रित हुनका साथै यसले नगरको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भट्टराईको भनाइ छ ।
३२ मिटर अग्लो मझुवाभिरमा नेपाल नेसनल माउन्टेन गाइडले निर्माण गरिदिएको हो । रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको छ । सात जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका पााच जना गरी १२ जनाले तालिम लिएका छन् ।
कृत्रिम भिरमा भन्दा प्राकृतिक भिरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले बताए ।
पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हाुदै जानुका साथै पर्यटन विकासमा पनि सहयोग यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पा बताउँछन् । ‘रक क्लाइम्बिङको भविष्य राम्रो छ, पछिल्लो समय युवापुस्ता यो खेलमा रमाउन थालेका छन्,’ शेर्पाले भने, ‘खेलका साथै पर्यटन पनि बढेर गएको छ ।’ रक क्लाइम्बिङ पोखरा, काठमाडौं, सोलुखुम्बुमा पनि रक क्लाइम्बिङ फस्टाएको शेर्पाले बताए । कान्तिपुरबाट