झापा। अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिंदेनको पूर्णकदको सालिकको अनावरण हुने भएको छ।
यसअघि विसं २०७६ चैत १६ गते र विसं २०७७ वैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिएको भएपनि कोभिड–१९ को संक्रमणका कारण सो परियोजना स्थगन भएको थियो। दुईपटकसम्म स्थगन गरिएको शालिकको अनावरण यही मंसिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिंदेनले गर्ने जनाइएको छ।
यसैगरी फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको २० लाख रुपैयाँ साविक जिल्ला विकास समितिको पाँच लाख रुपैयाँ र विभिन्न दाताहरूबाट संकलन भएको २५ लाख रुपैयाँ गरी कूल ५० लाख रुपैयाँको लागतमा लिंदेनको शालिकसँगै मांहिम (किराँत धर्मावलम्बीहरूको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ।
प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले ६ कठ्ठा जमिनमा उक्त संरचना निर्माण गरीएको जानकारी दिएका छन्। यसैगरी राष्ट्रिय विभूति लिंदेनको सालिक एउटै ढुंगालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको उनले बताएका छन्। ६ फिट उचाइ रहेको लिंदेनको सालिक निर्माणमा मात्र १० लाख रुपैयाँ खर्च भएको उनको भनाइ रहेको छ।
देशकै नमूना प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य लिएको मांहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजना रहेको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताएका छन्। यसैगरी कार्यक्रमस्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरूको शिवालय, प्रकृति पूजक मगर र चौधरीलगायत विभिन्न जातजातिका धार्मिकस्थल रहेको जानकारी दिएका छन्।