काठमाडौं। जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ । पहिले रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो । चन्दननाथ १० स्थित बोहोरा गाउँमा अस्पताल बनाउन ठेक्का आव्हान समेत भइसकेको छ ।
चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले आर्थिक स्रोत सुनिश्चित भइसकेकोले १५ शय्याको अस्तपाल बन्ने पक्का भइसकेको बताए । उनका अनुसार अस्पताल निर्माणको लागी केन्द्र सरकारले बजेट छुट्याइसकेको छ । अस्पताल बन्ने भएपनि जुम्लाबासी खुसी छन् । यहाँ रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा जाजरकोट, डोल्पा, कालिकोट, मुगु र सुर्खेतसम्मका बिरामीले उपचार लिइरहेका छन् ।
पछिल्लो समयमा आयुर्वेद उपचार पद्धतिमा विश्वास बढेकोले अस्पताल बनाउनुपर्ने अवस्था आइपुगेको प्रमुख कठायतको भनाइ छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य विभागले सबै कागजपत्र जुटाइ सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आव्हान गरी काम अगाडि बढाएको हो ।
बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने १५ शय्याको आयुर्वेद अस्पताल बनाउन चालु गत वर्षको लागि ३ करोड विनियोजन भएको थियो । तर, स्रोत सुनिश्चितता नहुदा ठेक्का खोल्न सकिएको थिएन । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासागको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सब–इन्जिनियर चन्द्र खड्काले बताए ।
‘गत फागुन ३ गते मन्त्रीस्तरीय निर्णयबाट आयोजनाको वहुवर्षीय ठेक्का सहमति सम्बन्धि मापदण्ड (प्रथम संशोधन), २०८० को दफा ६ (१) बमोजिम बजेट विनियोजन गरी १२ करोड रुपैयॉको स्रोत सहमति प्रदान भएको थियो ।
सब–इन्जिनियर खड्काका अनुसार वहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ भने स्रोत सहमति प्राप्त भएको आयोजनाको आर्थिक वर्ष २०८०।८१ को हकमा चैत्र मसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधान अनुसार काम अगाडि बढेको छ ।
घर आगनमै आयुर्वेद अस्पताल बन्न लागेपछि बिरामीहरु निकै खुसी भएका छन। स्वास्थ्य केन्द्रमा कहिले औषधि अभाव हुने त कहिले जनशिक्त अभाव हुने समस्या देखिरहेको हुन्थ्यो । अस्पताल बन्ने भएपछि विशेषज्ञ चिकित्सक पाइनुका साथै सेवाहरु थपिएर सहज हुने जुम्लाबासीको अपेक्षा छ ।
नगरपालिकाको विकट क्षेत्र मानिने वडा नम्बर १० स्थित बोहरा गाउॅमा ठूला सरकारी संरचना नभएकोले केन्द्र सरकारको बजेटमा १५ शय्याको अस्पताल बनाउन लागेको चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले बताइन्।
‘एलोपेथिक पद्धतिबाट छिटो छरितो स्वास्थ्य लाभ लिन सकिने भएपनि कयौं रोगहरुको निदान आयुर्वेदिक पद्धतिबाट गर्न सकिने रहेछ,’स्थानीय जनबहादुर खत्रीले भने,‘यस्तो पद्धतिबाट उपचार हुने अस्पताल बन्नु साह्रै खुसीको कुरा हो ।’
आयुर्वेद औषधिबाट उपचार लिइरहेका बिरामीहरुलाई सुखद सन्देश हो । अहिलेको स्वास्थ्य केन्द्रबाट दैनिक सयौं जनाले निःशुल्क उपचार लिइरहेका छन्। अहिले अस्पताल बन्ने भएपछि निकै खुसी लागेको स्वास्थ्य केन्द्रका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए । ‘जल, जमिन र जंगलको उपयोग गरी स्थानीयस्तरमै औषधि बनाएर उपचार गरिने आयुर्वेद केन्द्र अब अस्पताल हुने भएको छ,’ उनले भने, ‘यो समग्र कर्णालीबासीको लागि सुखद खबर हो । ’
हाल आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा ओपीडी र ल्याब सेवा दिदै आएको छ । निकट भविष्यमै सर्जरी सेवासमेत दिने तयारी गरिरहेको आयुर्वेद केन्द्रमा दिसा, पिसाब, रगत, खकार जॉचको सेवा उपलब्ध छ । हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकले दैनिक रुपमा सेवा दिइरहेका छन् भने योग ध्यान शिविर संचालन गरेर नागरिकलाई सेवा दिने काम भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कान्तिपुरबाट