दाङ। नेपाल विद्युत प्राधिकरण घोराही शाखाले सडक बत्तीको लाइन काटने सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार सडक बतीको लाइन काटन सुरु गरेको हो । बत्ती बालेर पनि पैसा नतिर्ने गरेपछि रकम उठाउनका लागि केन्द्रले यस प्रकारको अभियान सुरु गरेको बताइएको छ । यसअघि पनि उद्योगले रकम नबुझाएपछि लाइन काटिएको थियो । उद्योगहरूले रकम नतिरे पनि विद्युत पछि हटेर लाइन जोडिदिएको थियो ।
मिटर जडान नगरी सडक बत्ती जडान गरिएको स्थानको लाइन काटन सुरु गरिएको घोराही वितरण शाखाका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए । केन्द्रको निर्देशनअनुसार आफूहरूले लाइन काटन सुरु गरेको उनले बताए । ‘मिटर जडान नगरी सडक बत्ती बाल्ने गरिएको छ केही स्थानको लाइन काटन थालिएको हो,’ प्रमुख प्याकुरेलले भने, ‘अहिले के कति स्थानमा मिटर जडान नगरेर सडकमा बत्ती जडान गरिएको छ भनेर जानकारी दिने कामसमेत भइरहेको छ ।’
मिटर जडान नगरेर बत्ती बाल्न नपाएको भए पनि मिटर जडानै नगरि बत्ती बाल्ने गरेको पाइको छ । अहिले घोराही क्षेत्रमा मिटर नै जडान नगरेर करिब दुई हजार बढी बल्ल बाल्ने गरेको प्रमुख प्याकुरेलले बताए । ‘कति बल्ब मिटर जडान नै गरेर बल्ने गरेका छन् भनेर जानकारी लिने काम भइरहेको छ त्यसपछि यथार्थ जानकारी आउने छ,’ उनले भने । कतिपय स्थानमा मिटर राखेर सडक बत्ती जडान गरिए पनि रकम नतिरेको समेत पाइएको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर राजीव सिंहले स्थानीय तहअन्तर्गतका विद्युत महसुल बुझाउन बाँकी रहेका सडक बत्तीको लाइन धमाधम काट्न सुरु गरिएको बताउँछन् । उनका अनुसार ६ जिल्लाका स्थानीय तहबाट सडक बत्ती बालेवापतको २६ करोड ९९ लाख रुपैयाँ बक्यौता रकम उठ्न बाँकी छ ।
‘स्थानीय तहअन्तर्गतका सडक बत्तीबाट विद्युत उपभोग गरेवापतको महसुल रकम नबुझाइएका सडक बत्तीको लाइन धमाधम काटिरहेका छौँ,’ उनले भने, ‘सडक बत्तीको महसुल रकम बुझाउन बाँकी रहेका स्थानीय तहलाई सार्वजनिक सूचनामार्फत महसुल बुझाउन जानकारी गराएका थियौँ, जानकारी पाएर पनि महसुल नबुझाउने स्थानीय तहको सडक बत्तीको लाइन काटिरहेका छौँ ।’
सडक बत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्ने सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तहलाई अनुरोध गरिएको उनी बताउँछन् । केही स्थानीय तहबाट सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको छ । कतिपय स्थानीय तहबाट सो अनुरूप कार्य नभएको हुँदा त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत लाइन काट्ने क्रम जारी छ ।
सबै स्थानीय तहमा समर्थन गर्नुपर्ने रकमसहित पत्राचारसमेत गरिएको उनले बताए । उनका अनुसार समर्थन नगर्ने वा गरे पनि किस्तामा रकम नतिर्ने पालिकामा जडान भएका सडक बत्तीको लाइन काट्ने क्रम जारी रहेको छ । दाङको तुलसीपुर वितरण केन्द्रअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको सडक बत्तीको बाँकी बक्यौता सबै समर्थन भएको छ ।
सो पालिकाले किस्ता बन्दीमा रकम बुझाउने सहमतिअनुसार केही रकम मात्र बुझाएको र सबै रकम भुक्तानी नगरेकाले आंशिक रूपमा वडा नं। ६ मा रहेका दुई वटा सडक बत्तीको मिटरको लाइन काटिएको प्रमुख सिंहले जानकारी दिए । घोराही वितरण केन्द्रमार्फत ६ वटा सडक बत्तीको लाइन काटिएको उनले बताए । दाङको लमही वितरण केन्द्रको लमही नगरपालिकाले पनि अग्रिम भुक्तानी गरेका छन् । बक्यौता रकम नबुझाउने विभिन्न चार वटा वितरण केन्द्रमार्फत ५१ वटा सडक बत्तीको लाइन काटिएको छ ।
डिभिजन प्रमुख सिंहका अनुसार नेपालगन्ज वितरण केन्द्रमार्फत खजुरामा ८ वटा, कोहलपुर वितरण केन्द्रमार्फत १८ वटा, घोराही वितरण केन्द्रमार्फत ६ वटा र लमही वितरण केन्द्रमार्फत १९ गरी जम्मा ५१ वटा सडक बत्तीको लाइन काटिएको हो । लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गत स्थानीय तहले फागुन मसान्तसम्मको बुझाउनुपर्ने कुल बक्यौता रकम २६ करोड ९९ लाख रुपैयाँ रहेको छ । कारोबार दैनिकबाट