चितवन। जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानीका नयाँ आयोजना निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्।
यसले शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ। महानगरप्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा रु ३ अर्ब ७७ करोड ७ लाख खर्च भएको छ। सो रकम सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको हो ।
उनका अनुसार शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा रु ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा रु २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा रु २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा रु २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा रु २३ करोड २५ लाख खर्च हुँने भएको छ।
यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा रु ५ करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा रु ११ करोड ३५ लाख, कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा रु ८ करोड ४ लाख, आनन्दपुर खानेपानी आयोजनामा रु ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा रु ५ करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा रु ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा रु ४ करोड २७ लाख विनियोजन भई काम भइरहेका जनाइएको छ। यसमध्ये कतिपय काम सम्पन्न भइसकेका छन्।
पार्वतीपुर खानेपानी आयोजनामा रु २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा रु पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना रु १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना रु १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना रु २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना रु १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ रु १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना रु १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा रु एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरमा जनप्रतिनिधि आउँदा ५७ प्रतिशत महानगरवासीले शुद्ध र सहज रुपमा पानी उपभोग गर्ने गरेकामा हाल यो प्रतिशत ९० पुगेको बताएका छन्। उनका अनुसार बन्दै गरेका आयोजना सम्पन्न हुँदा ९७ प्रतिशत महानगरवासीले आयोजनाहरुको पानी उपभोग गर्न पाउने भएका छन्।महानगरपालिकाभित्र खानेपानी विस्तारको आयोजना तीव्र रुपमा अघि बढेको उनको भनाइ रहेको छ। महानगर बन्नुपुर्व गाविस रहेको कविलासमा पानी लिन जानका लागि दुई घण्टा उकालो/ओरालो हिँड्नुपर्ने बाध्यता हाल अन्त्य भएको छ।
भरतपुर महानगरपालिका–१९ मा सबैभन्दा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ । रु ५९ करोडको शारदानगर खानेपानी आयोजनाको काम धमाधम भइरहेको वडाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिएका छन्। एक वर्ष भित्रमा वडावासीले आयोजनामार्फत शुद्ध खानेपानी खान पाउँने साथै उक्त आयोजनाबाट ४ हजार ५०० घरधुरी लाभान्वित हुने उनले जनाएका छन्।