काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा चालु आर्थिक वर्षभित्रै सवारीसाधन गुड्न पाउने भएका छन् । फ्लाइओभर बनाउन अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय फ्लाइओभरमा जाने एप्रोच सडक र आइरल वाल निर्माण भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताए । उनले भने, ‘२४ सै घण्टा काम गरिरहेका छौं । आगामी असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखेर काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै फ्लाइओभरमा सवारीसाधन गुडाउने लक्ष्य छ ।’ उनका अनुसार मौसमले साथ दिए लक्ष्य पूरा हुनेछ । फ्लाइओभरको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।
सम्झौता हुँदा तोकिएको म्याद फागुन १२ मा सकिएको छ । निर्माण कम्पनीले थप १० महिना समय माग गरेको केन्द्रले जनाएको छ । कति म्याद थप गर्ने निर्णय सडक विभागसँगको समन्वयमा गरिने केन्द्रले जनाएको छ । निर्माण कम्पनीले चैत २० मा नै म्याद थपको प्रस्ताव गरेको छ । प्रस्तावमाथि विभागले अध्ययन गरिरहेको छ । प्रि–मनसुन सुरु हुन लागेकोले पानी परेको समयमा आयोजनाको काममा अवरोध हुने केन्द्रको भनाइ छ । मौसमले साथ दिएको खण्डमा र अन्य कुनै अवरोध नभएमा फ्लाइओभरमा असारभित्रै सवारीसाधन गुडाउने लक्ष्य विभागले लिएको छ । इन्जिनियर महर्जनले १ सय ५० भन्दा कामदारले २४ सै घण्टा काम गरिरहेकाले लक्ष्य हासिल हुने दाबी गरे ।
ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद यही फागुन ११ गतेसम्म थियो । यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको केन्द्रले जनाएको छ ।
ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ । ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।
यस्तै, विकास केन्द्रले चक्रपथको अति व्यस्त सवारी चाप हुने कलंकी–कोटेश्वर सडक खण्डअन्तर्गत सातदोबाटो र एकान्तकुना चोकमा इन्टरसेक्सन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत नभएपछि भने अहिलेलाई रोकिएको छ ।
ग्वार्को फ्लाइओभर निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्याम उठाइने छ । फ्लाइओभरको फुल डेप्थ टेम्पोररी केसिङमा पाइल निर्माण गरी सिंगल स्प्यान ९प्रिकास्ट प्रिस्ट्रेस्ड पोस्ट टेन्सनिङ गर्डर ब्रिज० को ओभरपास, यान्त्रिक रूपमा स्थिर ९मेकानिकल्ली स्टेबलाइज अर्थ० प्रविधि सहितको वाल बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्याम निर्माण गरिने छ । १।५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । फ्लाइओभरको र्यामको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ । कारोबार दैनिकबाट