काठमाडौं। सस्तो र गुणस्तरीय भनिएको चौधरी ग्रुपको इन्टरनेट सेवामा यतिबेला दर्जनौँ समस्या देखिएका छन्।
गुणस्तरीय सेवा प्राप्त हुने भन्दै सिजीको नेट जडान गरेका ग्राहक यसमा पनि उस्तै समस्या देखिएपछि हैरान बनेका छन्।
काठमाडौंमा विस्तार भएको ६ महिना नपुग्दै सिजीको नेटमा अनेकौँ समस्या देखिएको हो।
सिजी नेटको पनि अरु आईएसपीजस्तै गुणस्तरमा समस्या देखिएपछि ग्राहकले नेपाल दूरसंचार प्राधिकरणमा उजुरी दिन थालेका छन्। सिजी नेटको गुणस्तरलाई लिएर अहिले उजुरी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएको बताइएको छ।
सिजी नेटले गुणस्तरीय इन्टरनेट नदिएको, नेटमा धेरै समस्या आउने गरेको, स्लो हुने, केही साइड चल्ने केही नचल्ने, टोल फ्री नम्बरमा सम्पर्क गर्न खोज्दा नउठाउने, उठाएपनि चाँडै समस्या समाधान नहुने ग्राहकहरुको गुनासो छ।
फाइबर इन्टरनेटमा ठूलो हिस्सा रहेका वर्ल्डलिंक, सुबिसु, भायनेट, नेपाल टेलिकम, क्लासिक टेकलगायतका आइएसपीहरुको विकल्पका रुपमा सिजी नेट जोड्नेहरु यसमा पनि उहि समस्या देखिएपछि वाक्क भएका छन्।
ग्राहकहरुले कम्पनीको आफ्टर सेल्फ सर्भिस प्रति गुनासो पोखिरहेको सिजी नेटले पनि स्वीकार गरेको छ।