दोलखा। कालिञ्चोक गाउँपालिकामा एक वर्षको बीचमा १८ किलोमिटर सडक सेतोपत्रे (ढलान) भएको छ । गाउँपालिकाभित्रका सडक व्यवस्थित गर्ने क्रममा सडक ढलानलाई ध्यान दिएको हो । पहाडी क्षेत्रमा भिरालो जमिन भौगोलिक रूपमा अप्ठ्यारो भएको ठाउँ ढलान गर्न थालेको हो ।
वडास्तरका सडकलाई व्यवस्थित गर्नका लागि वडा कार्यालयले नै छनौट गरेका सडकका महत्वपूर्ण ठाउँ स्वदेशमै पाउने सिमेन्ट, डण्डी र स्थानीयस्तरमा निर्माण सामग्री गिटी बालुवा प्रयोग गरी ढलान थालेको हो । गाउँपालिकाले पालिकास्तरका र वडास्तरका सडक वर्गीकरण गरेको छ । नौवटा वडा रहेको कालिञ्चोकमा गत आर्थिक वर्ष २०७९।०८० मा हरेक वडामा एक किलोमिटरका दरमा नौ किलोमिटर कालोपत्रे भएको थियो ।
चालु आर्थिक वर्षको असारसम्ममा थप नौ किलोमिटर सडक ढलानको काम जारी रहेको गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए । गाउँपालिकाले सडक ढलानका लागि ठेक्कामार्फत काम गराउँदै छ । अहिले सबै सडकका ठेक्का लागेर धमाधम काम हुँदैछ । यस वर्ष वडा नं. १ को यवल खोला–धुपिनी, वडा नं। २ को बाघखोर–झोरु–सोरुङ र वडा नं. ३ को सिंगटी–संस्कृतग्राम सडकमा स्तरोन्नतिसहित ढलान काम जारी छ ।
सो सडकका लागि दुई करोड एक लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको छ । त्यसैगरी वडा नं ४ को प्रताप स्मृति कलेज, खवासे टोल, लुकापानी र वडा कार्यालय नजिक काम भइरहेको छ । यो स्थानमा सडक चौडा गर्ने ग्याबिन, मेसिनरी वाल नालीसहित ढलानको काम रहेको छ । वडा नं. ५ को गुम्बेसी–तेत्तिसकोटी र वडा नं. ६ को सुङगुरे–जर्नापातेमा काम जारी छ । यी तीनवटै वडाको एउटै प्याकेज बनाएर हिमाली देउढुंगा निर्माण सेवाले दुई करोड ५४ लाखमा करसहित सम्झौता गरेर काम जारी छ ।
वडा नं. ७ को सेउली बजारदेखि गुमुखोलासम्मको सडकमा ढलान जारी छ । सोही वडाको सिसागोलाइभन्दा माथि जाने सडकको काम पूरा यस वर्षको पूरा भएको छ । वडा नं. ८ मिलडाँडादेखि नागदह जाने सडक प्राथमिकतामा राखेर ठेक्का आह्वान गरेको छ । सो सडकको ६ किलोमिटरमध्ये दुई किलोमिटर ढलान पूरा भएको वडा नं. ८ का वडा अध्यक्ष सूर्यबहादुर आचार्यले बताए । यो सडक तामाकोसीबाट निर्माण सामग्री ढुवानीका लागि महत्वपूर्ण मानिन्छ ।
वडा नं. ९ को थुम्कादेखि तल्लो गाउँसम्म जाने सडक ढलान भइसकेको छ । ढलानको गुणस्तर घट्न नदिन प्राविधिक कर्मचारीलाई निरन्तर उपस्थिति गराएर अनुगमनसमेत निरन्तर गरेको गाउँपालिका अध्यक्ष शिवाकोटीले बताए । अहिलेसम्मका ढलानको काम गाउँपालिकाभित्रकै बजेटबाट भएको उनले बताए । प्रदेश सरकारले थप सहयोग गरे अबको तीन वर्षभित्र महत्वपूर्ण सडक कालोपत्रे र ढलान गर्ने लक्ष्य रहेको बताए ।
गाउँपालिकाभित्रको महत्वपूर्ण सडकमध्ये सुन्द्रावती खोलादेखि सिंगटीसम्मको मुख्य राजमार्ग भएकाले कालोपत्रे भइसकेको छ । सिसागोलाईदेखि क्याम्पोल २७ किलोमिटर सडकमध्ये १५ किलोमिटर सडक कालोपत्रेको काम जारी छ । पाँच किलोमिटर अघिल्लो वर्ष कालोपत्रे भइसकेको छ भने बागमती प्रदेश सरकारको लगानीमा थप १५ किलोमिटर सडक कालोपत्रे हुँदा २० किलोमिटर कालोपत्रे हुन्छ । यसले वडा नं. २ बाबरेको सिमानासम्म पुग्ने छ ।
निर्माण व्यवसायीले समयमै काम पूरा गरे आउँदो असारभित्र कालोपत्रे पूरा हुन्छ । सिंगटीदेखि घ्याङसम्मको सडक कालोपत्रे वा ढलान गर्न पाए गाउँपालिकाभित्रको सडकमा समस्या नहुने गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले बताए । प्रस्तावित गाउँपालिका केन्द्र बन्ने झमार्सी खोलादेखि लामिडाँडा, बाबरे र कालिञ्चोक पुग्ने छोटो सडक कुभिण्डेदेखि पोखरेसम्म सडक पनि विस्तार र ढलानको सूचीमा छ । त्यो सडक पनि गत वर्ष एक किलोमिटर ढलान भएको छ । कारोबार दैनिकबाट