जुम्ला। नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा तालस्थित रारा पदमार्ग निर्माणमा ढिलासुस्ती भएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालकै ठूलो रारा तालको प्रवर्द्धनका लागि रारा पदमार्ग आयोजना निर्माणमा ढिलासुस्ती भएको हो । पाँच किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा फैलिएको रारा ताल वरिपरि पदमार्ग निर्माण गर्न संघीय सरकारको ४५ करोड २९ लाख बजेटमा ठेक्का भई निर्माण सुरु गरिएको थियो ।
ताल वरिपरि १५ किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने ठेक्का सम्झौता छ । आर्थिक वर्ष २०७८।०७९ मा ठेक्का सम्झौता भई आगामी आव २०८२ सालसम्म काम सक्नु पर्ने भए पनि निर्माण कार्यमा ढिलासुस्ती भएको छ । १५ किमि पदमार्ग निर्माण गर्नुपर्नेमा सम्झौता अवधि सकिन एक वर्षमात्रै बाँकी रहँदा अझै करिब ९।१० किमि पदमार्ग निर्माण गर्न बाँकी छ भने ४।५ किमि पदमार्गमा ढुंगा बिछ्याउने काममात्रै सकिएको छ ।
पदमार्ग निर्माणको ठेक्का पाएको (खानी थोदुुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले) पदमार्ग निर्माणमा ढिलासुस्ती गरेको गुनासो बढेको छ । निर्माण व्यवसायीले केही रकम पेश्की लिए पनि बीचमै काम अलपत्र छोडेको देखिन्छ । रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८।०७९ मा ४५ करोड २९ लाखमा बजेटमा ठेक्का खोलेको थियो । सोलिङ, पिसिसि, नाली, दैलेखको खानीको ढुंगा ल्याएर बिछ्याएर पदमार्ग निर्माण गर्नुपर्ने स्टिमेट छ ।
तर आयोजना निर्माणमा देखिएको ढिलासुस्तीले निर्धारित समयमा निर्माण सम्पन्न नहुने अवस्था देखिएको जिल्ला वन डिभिजन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख अमरप्रसाद साह बताउँछन् । उनी भन्छन्, ‘रारामा पर्यटन बढाउन पूर्वाधारकै चिन्ता छ । सरकारले पूर्वाधार निर्माणका लागि ठूलो रकम लगानी गर्दा पनि अपेक्षित काम हुन सकेको छैन । कार्यालयबाट निर्माण व्यवसायीलाई ताकेता दिइरहेका छौं ।’ पेश्की लिएर थोरै काम गरिसकेपछि हालसम्म निर्माण कम्पनीको कुनै मान्छे सम्पर्कमा नआएको उनको भनाइ छ । बितेको तीन वर्षमा लक्ष्यअनुसार आयोजनाको भौतिक प्रगति हुन नसकेको कार्यालय प्रमुख शाहले उल्लेख गरे ।
यता रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले रारा तालमा करोडौंको पदमार्ग निर्माण हुँदैछ भनेको वर्षौं बिते पनि कुनै काम नभएको बताए । यद्यपि काम गर्ने समय अझै बाँकी रहेकोले निर्माण व्यवसायीले काम गर्ने आशा कायमै छ । ठेकेदार चन्द्र थकाली भने पदमार्ग निर्माणको कामलाई केही दिनमा सुरु गरिने बताउँछन् । उनी भन्छन्, ‘केही वर्ष कोरोनाकै कारण निर्माण सामग्री ढुवानीमा समस्या हुँदा काम रोकियो । आर्थिक मन्दीलगायतका करण काम अघि बढ्न समय अझै बाँकी छ । निर्माण कार्य सुरु हुन्छ ।’
रारामा हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरे पनि सडक र होटलबासकै समस्या भोग्ने गरेका छन् । रारा ताल वरिपरि घुम्न चाहने पर्यटकका लागि फराकिलो बाटो नहुँदासमेत कष्ट भोग्दै आएका छन् । पर्यटकीय पूर्वाधार निर्माण भए रारा घुम्न आउने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । भरपर्दो सडक र पर्याप्त होटल बासको व्यवस्थापन नहुँदा पर्यटकले चाहेजस्तो सुविधा पाउन सकेका छैनन् । रारामा पुग्ने अधिकांश पर्यटकले होटल बासको व्यवस्थापन र सडक स्तरन्नोति गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
रारा पदमार्ग निर्माणमा ढिलाइ हुनु, रारा जाने एकमात्र पर्यटकीय मार्ग नाग्म–गमगडी सडक स्तरन्नोतिमा संघीय सरकारले बजेट विनियोजन नगर्ने, विनियोजित बजेट कार्यान्वयनमा निर्माण व्यवसायीले लापारबाही गर्ने समस्याले दुर्गम कर्णालीको पूर्वाधार विकासले गति लिन सकेको छैन । पूर्वाधार अभावकै कारण कर्णालीको पर्यटन सम्भावना अवसरमा रूपान्तरण हुन नसक्दा लक्ष्यअनुसार पर्यटक आकर्षित हुन सकेका छैनन् । कारोबार दैनिकबाट