काठमाडौं। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २० करोडको लागतमा चुम्लिङटारमा रहेको रिभरसाइड रिसोर्टको क्षमता विस्तार गर्ने भएको छ। रिसोर्टले आउँदो एक वर्ष भित्रै क्लब,बैंक्विट हल, थप कोठासहित क्षमता विस्तार गर्न लागिएको रिसोर्टका सीइओले जानकारी दिएका छन्।
हाल पहिलो चरणमा ३० वटा लक्जरियस रुम, रेष्टुरेण्ट, बार संचालनमा ल्याउने र दोस्रो चरणमा क्लब, स्पा लगायतका सेवा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। लामो बिदामा भ्रमणमा हिड्ने आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै रिसोर्टको सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिएका छन्। पछिल्लो समय रिसोर्टमा युवा पुस्ता सँगै विदेशी र कर्पोरेट ग्राहकको सहभागिता उल्लेख्य रहेको जनाइएको छ।
कम्पनीको व्यवसायिक योजना अनुसार दुई वर्ष अगाडि नै क्षमता विस्तार गरिने भनिएको रिसोर्टको काम कोभिडका कारण ढिलाइ भएको हो। कोरोनाको कमी भएसँगै अब छिटै निर्माण कार्य सुरु गर्ने उनको भनाइ छ। उक्त रिसोर्टले आफ्नो सेवा विस्तार गरेसँगै नाइट स्टे, इभेन्ट, कन्फ्रेन्स लगायत सेवा लिने ग्राहक लाभान्वित हुनेछन्। रिसोर्टले नेपाली पर्यटकलाई मध्यनजर गर्दै मूल्य निर्धारण गर्दै आएको छ। हाल प्रति रात ३५ सय रुपैयाँमा रुम बिक्री गर्दै आएको रिसोर्टले नयाँ लक्जरियस रुम संचालनमा आएसँगै ५ हजार रुपैयाँ भन्दा कम मूल्य निर्धारण गर्ने जनाइएको छ। रिसोर्टका सीइओका अनुसार रिसोर्ट क्षतमा विस्तारका लागि प्रारम्भिक वातावरण परीक्षणको काम भइसकेको छ।
कम्पनीअन्तर्गत सुर्खेतमा संचालित सिद्धार्थ रिसोर्ट विस्तार गरिएको छ। कम्पनीले केही वर्ष अगाडि खरिद गरेको सानी रिसोर्ट लाई विस्तार गरिएको हो। ८ कट्ठा जमिनमा २८ कोठा क्षमता रहेको रिसोर्टलाई विस्तार गरेर नयाँ स्विमिङ पुल, बैंक्विट, हेल्थ क्लब सँगै ३४ वटा कोठा थप गरिएको छ। यसका लागि ३० करोड रुपैयाँ लागत लागेको जनाइएको छ। हाल कम्पनीले रिसोर्ट परिसरको क्षेत्रफल विस्तार गर्दै एक बिघा बढी पुर्याएको छ।