जुम्ला। कालिकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित भएको छ । करिब चार दशकपछि निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरे पनि उडान नहुँदा विमानस्थल उद्घाटनमै सीमित भएको हो । ३८ वर्षपछि निर्माण सम्पन्न भएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडास्थित सुनथराली विमानस्थल गत फागुन १४ गते उद्घाटन भएको थियो ।
उद्घाटनका क्रममा तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्का र पर्यटनमन्त्री सुदन किराँतीले सक्भर नियमित नभए हप्तामा एक उडान अनिवार्य गर्ने बाचा गरेका थिए । विमानस्थल उद्घाटन भएको झण्डै दुई महिना पुग्न लागिसक्दा पनि उडान शून्य हुँदा सुनथराली विमानस्थल उद्घाटनमै सीमित भएको कालिकोटबासीको गुनासो छ ।
२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरिरहेका नहरिनाथ–१ का टेकबहादुर विष्टसहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेकबहादुर गुमाएकी आमा मृगा विष्टले सुनथराली उद्घाटनपछि हप्तामा एउटा जहाज आउने कुराले उत्साहित थिइन् । तर आजसम्म पनि एउटा जहाज नआएपछि राज्यले ३६ जनाको एउटै चिहान बनाएरकाको आत्माले शान्ति र आफन्तको मर्म बुझ्न नसकेको गुनासो पोखिन् ।
उनले भनिन्, ‘नत राज्यबाट मृतक परिवारले उचित राहत पायौं । न पाउने आशा छ । नियमित जहाज आएको भए पनि मृतक आत्माले शान्ति पाउन्थ्यो कालिकोटबासीको जहाज चढ्ने सपना पूरा हुन्थ्यो । तर आश्वासन दिएर पनि उडान हुन सकेको छैन । खै हाम्रा लागि राज्य कहाँ छ ?’
एयरपोर्ट उद्घाटन भएदेखि कालिकोटबासी जहाजकै पर्खाइमा रहेको नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदिप बोहोराले बताए । राज्यको करोडौं लगानीमा विमानस्थल निर्माण गरे पनि प्रयोगविहीन हुनु राज्यकै असक्षमता हो । उनले भने, ‘मन्त्रीदेखि सांसदले उद्घाटनका क्रममा हजारौंको संख्यमा उपस्थित नागरिकलाई तपाईंहरू तयार भएर बस्नुहोस् अब हप्तामा एउटा उडान हुन्छ । कालिकोटको जहाज चढ्ने सपना चाँडै पूरा हुन्छ ढुक्का हुनुहोस् भन्दै आश्वासन दिएका थिए । तर उद्घाटन भएको दुई महिना बित्दा पनि एउटा जहाज आएको छैन ।’
सुनथराली विमानस्थलमा हप्तामा एक उडान गर्ने कार्यतालिका नै बनाएर तत्काल कार्यान्वयन गर्ने भनिए पनि उद्घाटनमा मन्त्री सांसद बोकेर आएका जहाज फागुन १४ गतेदेखि हालसम्म फर्केर आएका छैनन् । नरहरिनाथ–१ का स्थानीय ज्ञानबहादुर विष्ट सरकारले चासो नदिएकै कारण एयरपोर्ट निर्माणदेखि उद्घाटन र नियमित उडानको सवाल पेचिलो नबेको बताउँछन् ।
उनी भन्छन्, ‘राज्यकै उदासिनताले एयरपोर्ट निर्माण हुन चार दशक लागेको छ । उद्घाटनमै वर्षौं बित्यो । अब जहाज चढ्न अझ कति वर्ष कुर्नुपर्ने हो रु मन्त्रीको बोलीको ठेगान नहुने भएपछि कालिकोटको पीडा कसले बुझ्ने रु’ हप्तामै एउटा उडान गर्नका लागि भए पनि कालिकोटका कुनै दलका नेताको सक्रिय देखिन्न । बरु सत्ता परिवर्तनले सुनथरालीमा जहाज उडानको विषयमा सरकारको ध्यान केन्द्रित नभएको भन्दै टारिरहेका छन् ।
यता नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्ट सबै प्रक्रिया पूरा भइसके पनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएकाले उडान नभएको बताउँछन् । उनले भने, ‘नेपालगन्ज–कालिकोट, सुर्खेत–कालिकोट र धनगढी–कालिकोटको भाडा दरसमेत कायम भइसकेको छ । तर अनुमति नपाएका कारण उडान हुन सकेको छैन । मन्त्रीहरूले गरेको वाचानुसार उडान गर्नका लागि पहल नगर्नु र आजसम्म एउटा जहाज नआउनु दुःखद पक्ष हो ।’
नेपालगन्ज–कालिकोटका लागि प्रतिव्यक्ति पाँच हजार ५५१ रुपैयाँ, सुर्खेतबाट तीन हजार ९०१ रुपैयाँ र धनगढीबाट पाँच हजार २४९ रुपैयाँ लाग्ने भाडादरसमेत निर्धारण भइसकेको छ । जतिसुकै व्यवस्थापन गरे पनि परिणाममा विमानस्थल उद्घाटनमै सीमित भएको र केन्द्र सरकारले उपेक्षा गरेको भन्दै कालिकोटका स्थानीयले आक्रोश पोखेका छन् । कारोबार दैनिकबाट