जुम्ला। पर्यटकलाई आकर्षण गर्न जुम्लाको हिमा गाउँपालिकामा कलात्मक काठेसाँघु निर्माण गरिएको छ । नेपालकै ठूलो रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकको प्रवेशद्वार हिमा–४ चिउडीमा काष्ठकलाको कलात्मक काठेपुल ९साँघु० निर्माण गरिएको हो । जुम्लाको ऐतिहासिक महत्व झल्काउने, पर्यटकलाई आकर्षण गर्ने काठेपुल आधुनिक विकाससँगै लोप हुँदै गएका छन् ।
७.८ वर्ष पहिलेसम्म आठ स्थानीय तह रहेको जुम्लाका सबै क्षेत्रमा काठेसाँघु थिए । कतै बाढी पहिरोले बगाएको र कतै स्थानीयले भत्काएर झोलुंगे पुल निर्माण गरी जुम्ली पहिचान झल्काउने काठेसाँघु संकटमा परेका हुन् । ०७९ असोजको बेमौसमी बाढीले बगाएको चिउँडीको काठेपुललाई हिमा गाउँपालिकाले पुनः निर्माण गरी सञ्चालनमा ल्याएको छ । धामी झाँक्रीको उपस्थितिमा विधिवत पूजा गरी साँघु उद्घाटन गरिएको छ ।
धामीको भेला गरेर साइत हेराएर, बाजा, मुग्लेरी कलश सजाएर काठेसाँघु निर्माणको शिलान्यास र उद्घाटन गर्ने परम्परागत चलन छ । दुई वर्ष पहिलेको बेमौसमी बाढीले पुरानो पुल बगाएपछि नयाँ निर्माण गरी उद्घाटन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । पुलमा नेपाली पोशाक लगाएका महिला पुरुष, भगवान, सुरक्षाकर्मी लगायतको मूर्ति बनाइएको छ । काष्ठकलाबाट निर्मित काठेपुल (साँघु)ले जुम्लाको ऐतिहासिक महत्व पनि झल्काएको छ ।
अध्यक्ष शाही भन्छन्, ‘नाग्म–गमगडी सडक रारा जाने प्रवेशद्वार हो । दैनिक सयौं पर्यटक आवतजावत गर्छन् । चिउँडीको कलात्मक काठेसाँघुले पर्यटक आकर्षण गर्नेछ । विगतमा पनि त्यस पुलमा फोटो खिचाउने, टिकटक बनाउनेको बाक्लो भीड हुन्थ्यो । अहिले थप व्यवस्थित बनाएका छौं । रारा आउने जाने पर्यटकले थप मनोरञ्जन लिने अपेक्षा छ ।’
जिल्लामा बाढी पहिरोले भत्किएका, बगाएका अधिकांश साँघु क्षतविक्षत अवस्थामा छन् । तर हिमा गाउँपालिकाले ऐतिहासिक महत्व बचाउन र पहिचान झल्काउन कलात्मक काठेपुल निर्माण गरेको हो । रारा जाने सडक नाग्म–गमगडी सडकको प्रवेशद्वारमै पर्ने चिउडीमा निर्माण भएको काठे पुलले पर्यटकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ । बाढीले बगाएपछि उजाड भएको चिउडी क्षेत्र रमणीय भएको छ । अब पर्यटकको पनि आकर्षण बढ्ने अनुमान छ ।
काठेपुलमा ठड्याइएका सबै मूर्ति हिमा गाउँपालिका–४ का कालो तिरुवाले निर्माण गरेका हुन् । उनी हातबाटै काठका विभिन्न आकृति कोर्छन् । कालो तिरुवालाई हिमा गाउँपालिकाले सम्मान पनि गरेको छ भने आवश्यक सामान खरिदका लागि पालिकाले एक लाख रुपैयाँसमेत सहयोग गरेको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अनुसार हिमाले पर्यटक प्रवर्द्धन, शिक्षा, कृषिलगायतका क्षेत्रमा पालिकाले प्राथमिकता दिँदै आएको छ। कारोबार दैनिकबाट