काठमाडौं। लगानी सम्मेलनमा पर्यटन पूर्वाधारका १७ आयोजना प्रस्तुत गरिने भएको छ। लगानी बोर्डको ५८औँ बैठकले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा कुल १५१ परियोजनामध्ये पर्यटन पूर्वाधारका १७ आयोजना प्रस्तुत गर्ने निर्णय गरेको हो।
पर्यटन पूर्वाधारका १७ आयोजनाअन्तर्गत खप्तड एकीकृत पर्यटन विकास आयोजना, प्रदर्शनी केन्द्र परियोजना, पोखरा महानगरपालिका, मूलबारी–सौनेथुप फुट ट्रेल परियोजना, बेगनास–रुपताल जल खेलकुद आयोजना, पोखरा महानगरपालिका, जानकी हेरिटेज होटल तथा सांस्कृतिक गाउँ परियोजना, लुम्बिनी करिडोरका पालिकाहरूमा ‘इलेक्ट्रिक मोबिलिटी करिडोर’ विकास आयोजना, ‘ग्रेटर लुम्बिनी टुरिस्ट सर्किट’ यातायात परियोजना रहेका छन्।
त्यसैगरी नुन्थर फिल्म सिटी परियोजना, मनोरञ्जन पार्क बागमारा, चितवन, रुद्रपुरगढी पर्यटन आयोजना, बढिमालिका पर्यटन विकास परियोजना, मुडी पर्यटन विकास परियोजना, ग्रेट हिमालयन ट्रेल पर्यटन परियोजना, दोलखा फिल्म सिटी परियोजना, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र तालतलैया बहुउद्देश्यीय पर्यटन आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिने आयोजनाहरु हुन्।