काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका ठूला पूर्वाधार परियोजनामा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आह्वान गरेका छन्।
‘नेपाल लगानी सम्मेलन २०२४’को उद्घाट सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएकाले ठूलो पूर्वाधार परियोजनामा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आह्वान गरेका हुन्।
उनले लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न ८ कानुन परिमार्जन गरिएको परिमार्जन गरिएको समेत जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले भने, “नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ। जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ”
नेपालमा जलविद्युत् उत्पादनको प्रचूर सम्भावना भए पनि हालसम्म तीन हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले करिब ५ हजार ५ सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी)मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए
प्रधानमन्त्रीले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए ।