जुम्ला। पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म–गमगडी सडकको कालोपत्रे सुरु भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर २०६९ पुस १ गतेदेखि सञ्चालनमा आएको सडक करिब १२ वर्षपछि कालोपत्रे गर्न थालिएको हो । कुल ९३ किमि दूरी रहेको नाग्म–गमगडी सडकअन्तर्गत हाल ६ किलोमिटर सडकलाई मात्र कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
नाग्म–गमगडी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा नं। २ बोतागाउँसम्म ६ किमि सडक कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर घर्तीमगरले बताए । उनका अनुसार महावु हुँदै नाग्म–गमगडी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानीभित्र ६ किमि सडक कालोपत्रे हुन लागेको हो । ०७८ पुस १२ गते सम्झौता भएको उक्त योजना ०८१ को पुसमै सक्नुपर्ने सम्झौता छ ।
कालोपत्रेदेखि नाग्म–गमगडी सडकको अन्य निर्माणको ठेक्का थोदुङ बासना जेभी निर्माण कम्पनीले लिएको सूचना अधिकारी घर्तीले जानकारी दिए । कालोपत्रेका लागि भनेर छुट्टै कुनै बजेट नरहेको र महावु–नाग्म–गमगडी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमि सडक कालोपत्रे गर्न थालिएको उनको भनाइ छ । ९३ किमि दूरीको उक्त सडकको ३२ किमि रोकायाबाडादेखि ३८ किमि बोतासम्म बीचको ६ किमि कालोपत्रे गर्ने योजना छ ।
बहुवर्षीय योजनाका रूपमा नाग्म–गमगडी सडक स्तरवृद्धि भइरहेको छ । यद्यपि, उक्त सडक कालोपत्रेका लागि संघीय सरकारले छुट्टै बजेट विनियोजन गर्न सकेको छैन । सडक डिभिजनले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन । जुम्लाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालभरि नाग्म–गमगडी सडकको कालोपत्रे गरेरै छाड्ने बाचा गरेका छन् । तत्कालका लागि ६ किमि मात्रै पिच भए पनि दैनिक यात्रा गर्ने यात्रु र पर्यटकले राहत पाउने अपेक्षा गरिएको छ ।
हालसम्म पूर्ण सडक ग्राभेलसमेत नभएको अवस्थामा सिंजा उपत्यका हुँदै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । कर्णाली राजमार्गको एक लेनको सडकमा जोखिम मोल्दै आएका पर्यटकले नाग्म–गमगडी सडकमा धुलो धुवाँले कष्ट बेहोर्ने गरेका छन् । तर अधिकांश ठाउँमा ग्राभेल र ६ किमि दूरी कालोपत्रे भएपछि रारा आउने पर्यटकलाई विगतको भन्दा केही सुविधा हुने अपेक्षा गरिएको सिंजा सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए ।
सबै सरोकारवालाको पहलले उक्त सडकको कालोपत्रेका लागि रातो किताबमै बजेट ल्याउन सकिएको खण्डमा केही वर्षमा काम सकिने उनको भनाइ छ । तर कर्णालीको पहुँच केन्द्र सरकारमा नपुग्दा र केन्द्रले कर्णालीको भूगोललाई समेटेर बजेट नदिँदा हाम्रा विकास आयोजना सधै उपेक्षामा पर्ने गरेको उल्लेख गरे । बजेट अभावकै कारण कर्णालीमा पूर्वाधार विकासका आयोजना निर्माणमा ढिलाइ हुने गरेको छ । सडकखण्डमा पानी व्यवस्थापन गर्न नाला बनाउने, पहिरो रोक्न पक्की पर्खाल बनाउनेलगायत सडक चौडा बनाउने काम भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकलाई सुधार गर्न सके अपेक्षानुसार पर्यटक आउने छन् । भौगोलिक अवस्था र विकासमा सरकारी उपेक्षाले गर्दा कर्णालीमा एक पटक आएको पर्यटक फेरि आउने अवस्था छैन । कर्णालीमा पर्यटक टिकाउन मुख्यतया होटल बास र सडक पूर्वाधारकै समस्या देखिएकाले पर्यटनको सम्भावनालाई मध्यनजर गरी पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने कर्णालीबासीको माग छ। कारोबार दैनिकबाट