कालिकोट। जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका ५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।
भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण भएको हेलिप्याड दैलेखकी संघीय सांसद सीता रानाको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ ।
एक महिनाको अवधिमा शमशेर गुल्म मान्मको जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेको गुल्मपति सेनानी रन्जित कार्कीले बताए। सुकाटियाको डाडो सम्याएर हेलिप्याड बनायौ । उनले भने जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुनेछ । उनले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने बताए ।
सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेकामा खुशी लागेको पालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुनेछ । उनले भने, अस्पताल पुर्याउन ढिलाई भएर अब कसैको मृत्यु हुने छैन। उनले गाउँपालिकाको अनुरोधलाई स्वीकारेर सेनाले हेलिप्याड बनाइ दिएकोमा धन्यवाद दिँदै हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मर सुधार गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाए ।
हवाई उद्धारका लागि हेलिप्याड नहुँदा समयमै अस्पताल पुर्याउन नसकी अबदेखि कुनै पनि दिदी बहिनीले अकालमा ज्यान गुमाउन नपर्ने गाउापालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन् । उनकाअनुसार एक वर्षको अवधिमा मात्र शुभकालिकाका ३ जना सुत्केरी महिलाको सदरमुकाम मान्मबाट हवाइ उद्धार गरेर ज्यान बचाइएको छ । स्वास्थ्य संस्था लैजान ढिलाई हुदा गत वर्ष नै भर्ता र छाती गाउका दुई जना महिलाले सुत्केरी हुन नसक्दा अकालमा ज्यान गुमाएका थिए । कान्तिपुरबाट