काठमाडौं। डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा पनि मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन्।
सडक निर्माणले गर्दा एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती,गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिँदै गएका छन्। कुनै अध्ययन अनुसन्धान विना नै जथाभावि सडक निर्माण गर्नाले वर्षौं पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गएका छन्। तर प्राचिन संपदाको संरक्षणका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयको गुनासो रहेको छ।
विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्क नगरिकन जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका जनाइएको छ। यसैगरी स्थानीय तहका अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, सत्तल, देवल, थुम्का, चौतारी, पोखरी, पाटीपौवा र धारा कुवाजस्ता सम्पदा सडक विस्तारको क्रममा विगत १० वर्षयता नामेट हुने अवस्थामा पुगिसेका छन्। सो क्षेत्रमा विकासको नामबाट भएको विनासले दीर्घकालसम्म अपूरणीय क्षति पुर्याइरहने जनाइएको छ। सडकको नाममा डोजरले उर्बर जमिन मात्रै नभत्काएर पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र परम्पराको जग पनि विनास गरेको हुनाले अहिले ग्रामीण सौन्दर्य पनि नासिँदै गएको छ।
यसैगरी बाइसे चौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देवल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार हाल खण्डहरमा परिणत भएका स्थानीयले बताएका छन्। ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारी, लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौँ ऐतिहासिक, पुरातात्विक र प्राकृतिक सम्पदा नासिएका जनाइएको छ।
हाल ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ। मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका त्यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै त्यहाँका स्थानीयवासीले गुनासो पोखेका छन्।