दोलखा। दोलखाको नयाँपुल–पवटी सडक कालोपत्रे हुने भएको छ । भीमेश्वर नगरपालिका–५ नयाँपुल (तामाकोसी बजार) देखि शैलुङ गाउँपालिका–७ को चर्नावती बजार हुँदै मेलुङ गाउँपालिका–१ पवटी सिम्टेसम्मको सडक कालोपत्रे हुने भएको हो । नयाँपुल–पवटी–डाँडाखर्क सडक खण्डअन्तर्गत पहिलो ६.७ किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो ।
बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना एएफ आयोजना इकाई हेटौंडाले सडक स्तरोन्नति गरी कालोपत्रे, नाली निर्माण, तारजालीका काम र टेवा पर्खाल गर्ने गरी ठेक्का सम्झौतासमेत गरिसकेको छ । आयोजनाले १७ करोड ९१ करोड रुपैयाँमा स्वच्छन्द–जीएससी जेभी सिन्धुलीसँग ठेक्का सम्झौतासमेत गरिसकेको छ । एक महिनाअघि सम्झौता गरेको ठेक्का दुई वर्षमा पूरा गर्नुपर्छ ।
सम्झौतापछि आयोजनाका इन्जिनियर र निर्माण व्यवसायीसहित स्थलगत निरीक्षण सकिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । केही दिनभित्रै आयोजना र निर्माण व्यवसायीका प्राविधिकले संयुक्त सर्भेको काम गर्ने र काम सुरु गर्ने उनले बताए । १५ वर्षअघि तत्कालीन जिल्ला विकास समिति दोलखा र गाविसको बजेटबाट ग्रामीण सडक खनिएको थियो।
भूकम्पपछि सडक सुधार गरी सोलिङ र ग्राभेल भएको थियो । त्यही सडक स्तरोन्नति गरी कालोपत्रे हुन लागेको उनले बताए । सिम्टेदेखि भेड्पूसम्मको १२ किलोमिटर सडक तीन वर्षअघि नै कालोपत्रे भइसकेको छ । बीचको सडक कच्ची भएकाले कालोपत्रे गर्नका लागि प्रदेश सरकारसँग माग गरेकोे उनले बताए । सिम्टेदेखि शैलुङदेखि भैंसेसम्मको सडकको अप्ठ्यारो ठाउँमा ढलानको काम जारी छ ।
सडक कालोपत्रे भएपछि शैलुङ जाने पर्यटकका लागि पनि सहज हुने र तराई क्षेत्रबाट शैलुङ आउने पर्यटक बढ्ने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले जानकारी दिए । पवटीको सुन्तला र तरकारी, शैलुङका आलु बजारसम्म लैजान पनि यो सडक महत्वपूर्ण हुनेछ । यस वर्ष पवटी एउटा गाउँमा मात्र ११ करोडको सुन्तला उत्पादन भएको थियो ।
बालुवा गिटी, ग्राभेलनजिकै भएको धेरै कटिङ नपर्ने भएकाले सडकको काम गर्न सहज हुनेछ । तामाकोसी बजार र चर्नावती बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका पुराना केही घर खाली गराउनका लागि पनि आफूहरूले सहजीकरण गर्ने मेलुङ गाउँपालिका अध्यक्ष थोकरले जानकारी दिए । सडकको काम छिटोछरितो रूपमा गराउनका लागि स्थानीय सरकारका तर्फबाट भरपूर सहयोग हुने थोकरले बताए । कारोबार दैनिकबाट