भैरहवा। मलेसिया–भैरहवा–काठमाडौं दुई तर्फी उडान गर्न सरोकारवाला निकायहरुले माग गरेका छन् । नेपाल वायुसेवा निगमले विगत एक वर्षदेखि मलेसिया–भैरहवा –काठमाडौं हवाई उडान साप्ताहिक रूपमा एकतर्फी रूपमा गर्दै आइरहेका छन् । त्यसलाई साप्ताहिक रूपमै भए पनि दोहोरो गराउन माग गरिएको हो । उनीहरूले एक तर्फी रूपमै भए पनि उडान गर्दै आएकोमा अब त्यसलाई दुई तर्फी रूपमा सञ्चालनमा ल्याई दोहोरो उडान बनाउन आग्रह गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू हुन नसक्दा यस क्षेत्रमा नैराश्य छाइरहेको बताए । उनले भने,‘सरकारी स्वामित्वमा रहेको निगमले साप्ताहिक रूपमा गर्दै आएको मलेसिया–भैरहवा–काठमाडौं उडानलाई दुई तर्फी बनाउनु पर्छ ।’ विगत एक वर्षदेखि राष्ट्रिय ध्वजावाहकले एकतर्फी उडान भरिरहेको छ । त्यसबाट औसतमा ४० जना जति भैरहवा आइरहेका छन् ।
निगमको उडानलाई हप्ताको एक पटक भए पनि दुई तर्फी बनाई विमानस्थललाई चलायमान बनाउनु पर्ने नगर प्रमुख खानले बताए । गौतमबुद्ध विमानस्थल चलायमान बनाउन र नियमित उडानका लागि विभिन्न सरकारी एवं सरोकारवाला निकायसँग सिद्धार्थनगरपालिकाको तर्फबाट माग र आग्रह गर्दै विमानस्थल चलायमान बनाउन संस्थागत रूपमा अघि बढेको नगरप्रमुख खाँले जानकारी दिए ।
विमानस्थल सञ्चालनपछि पर्यटन क्षेत्रमा चहलपहल हुने भन्दै यस क्षेत्रमा पर्यटन सेवा क्षेत्रमा अर्बौको लगानी थपिएको र त्यो लगानी सुरक्षित गर्न पनि विमानस्थल चलायमान हुन जरुरी रहेको उनको भनाइ छ । यो क्षेत्रमा हाललाई दुई तर्फी उडान भएपछि अन्य बीमा सेवा कम्पनीहरू पनि आकर्षित हुने उनको भनाइ छ । निगमसँग ३ वटा विमान हुँदाको बखतमा पनि एक तर्फी सेवा दिइरहेकोमा अहिले बिग्रिएर बसेको जहाज पनि मर्मत भएर आइसकेको छ । त्यसैले दुई तर्फी उडान सम्भव रहेको उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गत वर्षको जेठबाट सुरु भएको एक तर्फी उडानलाई दुई तर्फी गरी भैरहवाको हवाई क्षेत्रलाई गति दिन र पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए । उनले भने,‘गत वर्ष देखिनै हामीले पहल गर्दै आएका छौं, एक तर्फी उडान भएको छ । अब यसलाई दुई तर्फी बनाउन हाम्रो माग छ’, अध्यक्ष श्रेष्ठले भने ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल अलपत्र जस्तो हुँदा यहाँको पर्यटन क्षेत्र पनि निराश भएको बताउँदै विमानस्थल चलायमान बनाउन अन्तर्राष्ट्रिय उडान सुरुवात जरुरी रहेको बताए । उनले तत्काल भइरहेको उडान दुई तर्फी गर्न जरुरी रहेकोमा जोड दिए । विमानस्थल हेरेर यहाँको होटल क्षेत्रमा अर्बौ नयाँ लगानी आएको र ती सबै लगानी जोखिममा देखिएको बताउँदै लगानी संरक्षण गर्न विमानस्थल चलायमान हुन जरुरी रहेको उनले बताए ।
पर्यटन सम्बद्ध संघसस्थाले भारतसँग नयाँ रुटको लागि सम्झौता, आइएलएस उपकरणको तत्काल प्रयोग, श्रम रोजगारका लागि पहिलो पटक विदेश जानेहरूको स्वास्थ्य परीक्षण काठमाडौंमा हुने गरेकोमा भैरहवा बुटवलमै हुनु पर्ने व्यवस्थाको माग गरेका छन् । त्यसैगरी विभिन्न देशको भिसा सेन्टरको स्थापना, कम्तीमा ५ वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफै गर्न सक्ने व्यवस्था, चीन थाइल्यान्ड जापान दक्षिण कोरिया श्रीलंका भियतनाम कम्बोडिया म्यानमार जस्ता बढी बुद्धिस्ट भएका देशहरूबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेकोले ती देशहरूबाट कूटनीतिक पहल गर्नु पर्ने बताएका छन् । कारोबार दैनिकबाट