काठमाडौं। निर्माण व्यवसायी भन्नासाथ प्राय सुनका मोटामोटा सिक्रि र ब्रासलेट टल्काउने, भुडि ढल्काउने सुकिलामुकिला पुरुषको अनुहार झल्किन्छ। नेपालमा थोरै संख्यामा निर्माण व्यवसायी महिला छन् जसमा पनि धेरैजसो महिलाको कम्पनी मात्र आफ्नो नाममा छ, काम श्रीमान वा परिवारका अन्य पुरुष सदस्यले गर्छन। निर्माण व्यवसाय (ठेक्का पट्टाको काम) पुरुषको हो भन्ने मानसिकता अझै व्याप्त छ तर यी सबै कुराको अपवाद जस्तै हुन् जुम्लाकी ‘गीता शाही’।
एस एल कन्स्ट्रक्सन प्रालीकी सञ्चालिका शाही विगत १२, १५ वर्षदेखि निर्माण क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेकी छन्। हालसम्म सडक निर्माणका काम मात्र गरिरहेकी उनी आफैं निर्माणस्थलमा बसेर काम गराउने, अह्राउने गर्छिन भने आवश्यक परेमा निर्माण उपकरण समेत आफैं चलाउँछिन्।
काम गर्न लाज, डर, घमण्ड गर्न नहुने मान्यता राख्ने शाही आफूलाई गिट्टि, बालुवा, रड, सिमेन्ट, स्काभेटर, टिपरसँगै रमाउने बानी परेको बताउँछिन्। उनी आफ्नो व्यवसायीक काममा मात्र होइन् निर्माण व्यवसायीको हकहितका साथै महिला निर्माण व्यवसायीलाई अघि बढाउनका लागि समेत आवाज उठाउने तथा पहलकदमी गर्ने कार्यमा सँधै अग्रसर भएर लागिरहेकी छन्।
२०४५ साल साउन २५ गते जुम्लाको तातोपानी गाउँपालिकामा बुबा धनवीर शाही र आमा कौशीला शाहीको कोखबाट जन्मिएकी शाहीले कम उमेरमा धेरै उतावचढाव भोगेकी छन्। अन्नको नाममा वर्षको एकबाली गहुँ र जहुँ मात्र फल्ने ठाउँ, आर्थिक अवस्था कमजोर, ६ जना छोराछोरी खर्च चलाउनै मुस्किल थियो परिवारमा। बुबाले राडीपाखी बेचेर जाजरकोटबाट बोकेर ल्याएको चामलको भात खान चाडपर्व नै कुर्नुपथ्र्यो। गीता जुम्लाकै श्री कालिका माविमा भर्ना भएर परीक्षा त दिन्थिन तर विद्यालय जान मुस्किलैले पाउँथिन्। एक सिजन जाजरकोट र एक सिजन जुम्ला बस्नुपर्ने हुन्थ्यो।
उनी कक्षा चार पढ्दा तिर बुबालाई औलो लाग्यो। चार महिना बिरामी भएपछि बुबा बिते। घरको मुल खाँबो ढल्यो। उनको परिवारमा झन ठूलो समस्या आइपुर्यो। देशमा माओवादी जनयुद्ध चलिरहेको थियो। बुबा बितेको केही समयपछि शाहीलाई पटक पटक कहिले फकाएर त कहिले धम्क्याएर माओवादीले लगे। उनी भागेर कोहलपुर आइन र आफन्तकोमा बस्न थालिन्। उमेर धेरै भएकाले कक्षा ५ बाट एकै पटक ८ कक्षामा भर्ना भए पनि उनी स्कुल जाँदिन थिइन्। उनले विद्यालय नगएरै एसएलसी परीक्षा दिइन्। त्यसपछि चन्दनाथ उच्च माविबाट क्याम्पस नगएरै १२ सम्म सकिन। विद्यालय नगएरै १२ सम्म सकेकी शाहीले पढाइलाई त्यो भन्दा अगाडी भने बढाउन सकिनन्।
माओवादीबाट भागेर जाजरकोट पुगेकी शाहीले त्यहाँ गाडी सिक्ने अवसर पाइन। लाइसेन्स निकालिन । त्यो बेला उनी गाडीको लाइसेन्स प्राप्त जुम्लाकी पहिलो महिला नै थिइन। उनले जुम्ला सरमुकाममा टिकट काउण्टरमा काम गर्न थालिन। यस क्षेत्रमा टिकट काउण्टरमा काम गर्ने महिला पनि उनी नै पहिलो थिइन्। २ वर्ष जति काम गरेपछि जम्मा भएको केही पैसा लिएर काठमाडौं गएकी शाहीले विदेश जान भनेर पासपोर्ट बनाउन फारम पनि भरिन। फारम त भरिन तर फारम बुझाउन चाहिले अन्य कागजात घरमै थिए त्यसैले केही समय रोकिइन्। त्यहि बेला उनलाई माओवादीमा हुँदा चिनेका ठेक्कापट्टा गर्ने एक जना दाईले विदेशमा महिलालाई धेरै दुख हुने भन्दै सम्झाए र यहिँ केही गर्न सुझाव दिए। साथै नेपाल निर्माण व्यवसायी संगठनमा कार्यालय सहयोगीको काम समेत मिलाइदिए। यसरी जुम्लाबाट काठमाडौंसम्म पुगि खाडी देशको यात्रा भने रोकेर काठमडौंमा बस्न थालिन् उनी।
मनमा केही गर्नैपर्छ भन्ने हुटहुटीले उनलाई यसै अल्झिएर बस्न दिएन। निर्माण व्यवसायी संगठनमा काम गर्न थालेपछि उनले त्यसबेला १० हजार खर्च गरेर आफ्नो पनि ठेक्कापट्टाको लाइसेन्स बनाइन्। त्यो बीचमा कहिले जुम्लाको रेडियोमा त कहिले काठमाडौंमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कार्यालय सहयोगीको रुपमा समेत काम गरिन्। भौतारिँदै पुन निर्माण व्यवसायी संगठनको कार्यालयमा काम गर्न थालेकी शाहीमा निर्माण क्षेत्रको काम सिक्ने चासो बढ्यो। लाइसेन्स थन्काएर राख्न भन्दा काम नै गर्न पर्छ भन्ने सोचिन र निर्माणस्थलमा जाने, निर्माणका काम हेर्ने र सिक्ने गर्न थालिन्। यसरी साइटमा जाँदा भने मानिसहरुले ठेकेदारको पछि लागेर आएकी, को हो ? के हो? भन्ने साध्ने, कुरा काट्ने, आश्चर्यको हेराइ हेर्ने गर्थे । उनी भन्छिन्, ‘मनमा केही गर्छु भन्ने लागेपछि कसैको केही कुराले फरक नपर्दो रहेछ। म काम सिक्न चाहन्थे त्यसैले कसैको कुराको वास्ता नै गरिन्।’
त्यसपछि उनलाई यसरी अर्काको साइटमा हेरेर मात्र सिकिँदैन अब आफैं ठेक्का हाल्न पर्छ भन्ने लाग्यो। त्यसबेला ललितपुर सडक डिभिजनले साना साना २६ वटा ठेक्का खुलाएको थियो। सानो बजेटका ठेक्का भएकाले खर्च धेरै नलाग्ने उनलाई सजिलै भयो। उनले त्यहिँबाट आफ्नो निर्माण व्यवसायको यात्रा तय गरिन्। साना साना ठेक्काबाट काम सिक्ने अवसर पाउँदै गइन्। त्यसपछि सहकारीमा सदस्य भएर लोन लिने, जग्गा किन्ने, बैंक ग्यारेन्टी देखाउने गर्दै ठूला ठेक्कामा पनि हात हाल्न थालिन्। अहिले उनी करोडौंको ठेक्काको काम गर्छिन ।
उनी निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य पनि हुन र महासंघकै छाता संगठन निर्माण व्यवसायी महिला समितिको सहसंयोजक समेत छिन्। हालैपनि उनी दैनिक ३५,४० जनासम्म मजदुर लगाएर काम गरिरहेकी छन्। यसरी २०६९ सालदेखि निरन्तर सक्रिय रुपमा निर्माण व्यवसायमा संलग्न शाहीको अहिले ललितपुरमा आफ्नै घर छ। हिँड्डुल गर्न आफ्नै गाडी छ। कुनै बेला चामलको भात खान चाडपर्व कुर्नुपर्ने शाही अहिले मन लागेको बेला मन लागेको ठाउँमा खान समस्या नभएको बताउँछिन्। उनी भन्छिन्, ‘हिँजोको जस्तो खान लगाउनै दुख छैन म यसमै सन्तुष्ट छु। सामान्य जीवन चलिरहेकै छ निर्माण क्षेत्रमा अझ राम्रो काम गर्ने मन छ।’ निर्माण क्षेत्रमा यसरी लागिन् कि उनले विवाह गर्ने उपयुक्त समयसम्म पाएकी छैनन्। व्यवसायीक हिसाबले आफू आफ्नो लागि सन्तुष्ट र सफल भएपनि महासंघमा समेत आफू राम्रो स्थानमा पुग्ने र निर्माण क्षेत्रलाई पनि राम्रो बनाउने उद्देश्य रहेकाले अझै विवाह बारे नसोचेको उनी बताउँछिन्।