मजुङ। लमजुङको बाग्लुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र गर्न कान्छाराम–नाना जेभीले २०७६ असोज ३० गते सम्झौता गर्यो ।
यो योजना अन्तर्गत घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर ग्राभेल गर्ने पनि रहेको छ।
कान्छाराम–नानाले २०७८ असोज २९ गतेसम्म निर्माण सक्ने भनी जिम्मा लिएको थियो । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सभापति पूर्णबहादुर तामाङको उक्त निर्माण कम्पनीले हालसम्म डेढ किलोमिटर सडक कालोपत्र गरेको छ ।
क्व्होलासोंथार गाउँपालिका १ बाग्लुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको सडक कालोपत्र र घलेगाउँदेखि मर्स्याङ्दी गाउँपालिका १ नायु हुँदै क्व्होलासोथार गाउँपालिका(४ भुजुङसम्मको सडक ग्राभेल कार्यको गति अहिले बढाएको छ । गत माघदेखि निर्माण कार्यमा फर्केको निर्माण कम्पनीले डेढ किलोमिटर कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर विवेक सिग्दलले बताए ।
उनका अनुसार घलेगाउँसम्मको १० किलोमिटरमा ‘स्ट्रक्चर’ को काम लगभग सकिएको छ । कालोपत्रका लागि करिब ४ किलोमिटर बेस बनाइसकिएको छ । घलेगाउँदेखि भुजुङसम्म पनि सडक फराकिलो पारेर ग्राभेल कार्य भइरहेको उनले बताए । ६ मिटर चौडाइ र १ मिटर सोल्जर हुने उक्त सडकमा नाला १ मिटरको हुनेछ । सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्र हुने उनले बताए ।
सिग्देलका अनुसार यो सडकका लागि पहिलोपटक २०७९ असोज २८ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप गरिएको समयमा पनि काम भएन । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन बमोजिम गत चैत २२ गते ६ महिनाको लाग म्याद थप भएको छ । २०८१ असोज मसान्तसम्म म्याद थप गरिएकोमा थप गरिएको समयमा सडकको कालोपत्र र ग्राभेल सक्नेमा इन्जिनियरहरु ढुक्क छैनन् ।
भ्याटसहित ३४ करोड ७७ लाख १४ हजार ४ सय ८ रुपैयाँ ७९ पैसामा २ वर्षको अवधि राखेर कालोपत्र र ग्राभेल गर्ने भनी सम्झौता गरेकोमा साढे ४ वर्ष बितिसकेकेको छ । ‘यो सडक हाम्रो लाइफलाइनको सडक हो । घलेगाउँ–भुजुङजस्ता पर्यटकीय गन्तव्यमा हजारौं पर्यटक हिँड्ने बाटो यही हो,’ गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले भने, ‘कयौं प्रयासपछि काम सुरु भएको छ । यसलाई सकरात्मक नै मानौं ।’
पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्षसमेत रहेका क्व्होलासोथारका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले लामो प्रयासपछि सडक निर्माण कार्य अघि बढेको बताए । यसका लागि जिल्लादेखि केन्द्रसम्म धाएका स्थानीय पछिल्लो समय काम अघि बढाएसँगै गाउँसम्म सडक कालोपत्र हुनेमा आशावादी छन् । ‘प्रदेशमा गयौं । माननीय (पूर्णबहादुर तामाङ) लाई भेट्यौं । सिडिओ कार्यालय, पूर्वाधार कार्यालय कति गयौं गयौं । बल्ल काम अघि बढ्यो । सरासर काम गरे धेरै समय लाग्दैन,’ घलेले भने ।
निर्माण व्यवसायी निरज तामाङ (पूर्णबहादुर तामाङका छोरा) ले यसअघि कोरोना संक्रमण, बाढीपहिरो, निर्माण सामग्री अभाव साथै बजेट प्राप्त नभएकोलगायत कारणले निर्माण कार्य ढिलाइ भएको बताए । ‘अब हामी आफैं आएर काम गरेका छौं । हामीले कालोपत्र थालेका छौं । सकेसम्म समयमै काम सक्नेछौं,’ उनले भने । उनले अरु ९पेटी ठेकेदार० लाई जिम्मा लगाउँदा समेत काम समयमा नबनेको बताए ।
पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म सडकको ६५ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीलाई २० करोड ४० लाख रुपैयाँ भुक्तानी दिइसकिएको छ । यसअघिकै डेढ करोड दिन बाँकी छ । हाल काम गरिरहेकोसहित भुक्तानी दिने तयारी गरिएको इन्जिनियर सिग्देलले बताए। कान्तिपुरबाट