काठमाडौं। म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो अवस्थामा छ। भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध तातोपानी कुण्डमा दुई व्यवसायीले होटल व्यवसायमा ४० करोडभन्दा बढी निजी लगानी गरेका छन्।
पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानीमा १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठूलो होटल निर्माणाधीन अवस्थामा रहेको छ। नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले प्रसिद्ध सिंगा तातोपानीमा होटल हट स्पिरिङ सञ्चालन गरेका छन्। तातोपानीमा आउने भीआईपी पर्यटक एवं विरामीलाई लक्षित गरेर स्टाण्डर, डिलक्स, सेमिसुइट, र सुइटरुममा विभाजन गरी ३६ कोठासहित लिफ्ट सुविधा रहेको होटल सञचालन गरेको संचालक श्रेष्ठले जानकारी दिएका छन्।
यसैगरी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा ल्याउन लागेका छन्। रोयल, डिलक्स र साधारण गरी तीनस्तरका सुविधासहितको कोठाहरूको व्यवस्थासहित होटल निर्माण गरिरहेको हमालले जानकारी दिएका छन्।
अहिले करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको होटलको भौतिक पूर्वाधारतर्फको करिब ६५ प्रतिशत काम पूरा भएको र आगामी भदौदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ रहेको छ। होटलमा पार्किङ र लिफ्ट सुविधासँंगै १ सय ५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउने जनाइएको छ।
सो क्षेत्रको तातो पानी कुण्ड पर्यटकको रोजाइमा पर्ने क्षेत्र भएकाले धौलागिरि क्षेत्रकै ठूलो, स्टार होटलका सुविधा उपलब्ध गराउँदै पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरेको उनले जानकारी दिएका छन्। पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रहेको यस होटल सञ्चालन भएमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पुर्याउने देखिएको छ।