काठमाण्डौं। तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो।
समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
केबुलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ, छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन् थपिने शर्माले जानकारी दिए।
छिम्केश्वरी केबुलकार परियोजनाको लागत एक अर्ब १० करोड रहने अनुमान गरिएको छ। परियोजनाले छिम्केश्वरीमा रिसोर्टसमेत निर्माण गर्ने लक्ष्य राखेको छ। तीन हजार ६०० मिटर लामो रहने केबुलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताए।
केबुलकार निर्माणका लागि सबैखालका अनुमति प्राप्त भइसकेको र डीपीआर बनाउनका लागि सीआरएस इन्डियालाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले बताएको छ। त्यस्तै आईई प्रक्रिया अगाडि बढेको र निर्माण सुरु भएको दुई वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने जानकारी दिएको छ।
विशेष गरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन्। पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ।
छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा ल्याएको छ। पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका हुन्।