काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी भइरहेको बताएकी छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलीसी इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित ‘नेपालमा विद्युत् व्यापारको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले निजी क्षेत्रले भरपर्दो आधार दिए विधेयक पास नभए पनि विद्युत व्यापारको अनुमति दिने बताएकी हुन्।
मन्त्री भुसालले विद्यमान कानुनले नपुगेर नै नयाँ कानुनी मस्यौदा भएको भन्दै राजनीतिक अवरोध नभए हिउँदे अधिवेशनमा यो विधेयक पास हुने भुसालले बताइन् ।
उनले भनिन्, ‘नेपाल विद्युत् प्राधिकरणले कम्पनीमार्फत व्यापार गर्न पाउने गरी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ । निजी क्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभए पनि अनुमति दिन्छौं।’
मन्त्री भुसालले ऊर्जा कूटनीति नै निर्णायक कूटनीति भएको बताएकी छन्। भारतसँगको कूटनीति पक्षलाई ऊर्जासँग बढी जोड्न भारतका लागि नेपाली राजदूतलाई पनि सोहीअनुसार भनिएको उनको भनाइ छ। उनले राजदूत शंकर शर्मालाई समेत ऊर्जा कूटनीतिमै भर पर्न जोड दिएको बताएकी हुन्।
कार्यक्रममा पूर्वऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जाको उत्पादन वृद्धि गर्ने सवालमा सरकारका तर्फबाट कुनै पनि बाधा हुन नहुने बताइन्। बंगलादेशमा बिजुली बेच्न नेपाल र बंगलादेशले संयुक्त रूपमा भारतसँग प्रस्ताव गर्नुपर्ने ज्ञावालीको भनाइ थियो।
त्यस अवसरमा राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विधेयक बनाउँदा विधायकीले २० प्रतिशत पनि अधिकार प्रयोग गर्न नपाएको गुनासो गरे। यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत निर्यातका लागि आयोगले हदैसम्मको सहयोग गरिरहेको बताए।