दोलखा। दोलखाको उत्तरी क्षेत्रको मुख्य गाउँ लापिलाङ–बाबरे सडक कालोपत्रे सुरु भएको छ । सुनखानी–साङ्बा सडकको लापिलाङदेखि बाबरेसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको हो । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले सडकको ठेक्का व्यवस्थापन गरेको हो ।
कार्यालयले सो सडक खण्डको १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लगाएको थियो । सबै तयारी पूरा गरेर वैशाख दोस्रो सातादेखि कालोपत्रेको काम सुरु गरेको हो । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर प्रतीक पौडेलले कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए । कालिञ्चोक गाउँपालिका–६ लापिलाङको पाटागाउँस्थित दूधपोखरी पहिरोदेखि कालिञ्चोक गाउँपालिका–२ बाबरेको लप्सीबोटेसम्म १५ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको इन्जिनियर पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल बाबरेको लप्सीबोटेबाट कालोपत्रेको काम सुरु गरी अहिले लामीडाँडाको खुरुले खोलासम्म झन्डै तीन किलोमिटर कालोपत्रे गरिसकिएको छ । यही रफ्तारले काम भए र मौसमले साथ दिए एक महिनाभित्र सडक कालोपत्रे सम्पन्न हुने विश्वास व्यक्त गरे । १५ किलोमिटर सडकमध्ये सिमसार क्षेत्र, कमजोर भूगोल भएको ठाउँमा ढलानसमेत रहेको छ ।
समग्रमा तीन किलोमिटर जति ढलान छ । ढलानको काम पनि अझै डेढ किलोमिटर बाँकी छ । ढलान छाड्दा १२ किलोमिटर कालोपत्रे गर्नुपर्छ । लापिलाङ पहिरो क्षेत्रमा सडकसमेत दुई वर्षअघि बगाएकाले त्यहाँ सडक अन्यत्रबाट ट्रयाक खोलिएको छ । पूर्वाधार विकास कार्यालयले दुई वर्षअघि उक्त सडकको वाल, नालीसहित कालोपत्रे गर्न ४४ करोडको लागतमा ठेक्का आह्वान गरेकोमा ठेकेदार कम्पनी केएस सुनकोशी जेभीले झन्डै १७ करोड घटेर २७ करोड लागतमा सम्झौता गरेको थियो ।
ठेक्का हाल्दा ४० प्रतिशत बढी घटेर ठेक्का लिएका कारण पनि काममा दबाब परेको छ । निर्माण कम्पनीका प्रतिनिधि कुशल खड्काले कालोपत्रेका लागि सम्पूर्ण उपकरण र निर्माण सामग्री पर्याप्त मात्रामा तयार गरेकाले मौसमको साथ र कुनै काबुबाहिरको परिस्थिति सिर्जना नभए जेठ मसान्तभित्र कालोपत्रेको काम सकिने दाबी गरे । विगत वर्षका बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोप र बीचमा सरकारले क्रसर उद्योग बन्द गर्दा यसअघि नै सम्पन्न हुने उक्त आयोजनामा केही ढिलाइ भएको खड्काले बताए ।
पहिरो लगायतका समस्याका कारण ढिला भए तापनि अब तोकिएको समयमै सडकको काम पूरा गर्ने बताए । ठेक्काको तोकिएको समयमा काम पूरा नभएपछि एक पटक असार मसान्तसम्मका लागि म्याद थप भएको छ । कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले यो सडक कालिञ्चोक गाउँपालिकाको लाइफलाइन सडक भएको बताए । गाउँपालिका आफैंले पनि २० किलोमिटर विभिन्न ठाउँमा ढलान गरेको र यो सडक कालोपत्रे भएपछि कालिञ्चोक गाउँपालिकाभित्र आवतजावतमा समस्या नहुने बताए ।
आक्स्फाल्ट कंक्रिट प्रविधिको कालोपत्रे भइरहेको उक्त सडक सम्पन्न हुँदा दोलखाको उपल्लो उत्तरी गाउँहरू सदरमुकाम चरिकोटसँग नजिकिनेछन् । सडक कालोपत्रे सम्पन्न हुँदा उत्तरी बस्तीहरू लापिलाङ, लामीडाँडा, बाबरे, कालिञ्चोक हुँदै खोपाचागुको साङ्बा बजार, बिगु गुम्बा, चिलंखा र आलम्पुका यात्रुलाई सहज हुनेछ । कारोबार दैनिकबाट