काठमाडौं। यतिबेला देशको राजनीतिक माहोलको कुरा गर्ने हो भने नेपाली कांग्रेसको महाधिवेशन नै चर्चा परिचर्चामा छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान शुरु भएको छ।केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरि सोही अनुसार मतदान कार्य शुरु गरिएको छ।
एक सभापतिका लागि ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएकामा पदाधिकारीमा उमेद्वारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन्।
कांग्रेसका नेता कार्यकर्तालाई मात्र नभएर यति बेला कांग्रेसको महाधिवेशन निर्माण व्यवसायीलाई पनि लागेको छ। हुन त राजनीति र निर्माण व्यवसाय फरक पाटो हो। तर निर्माण व्यवसायी त्यसमाथि पनि निर्माण व्यवसायी महासंघमा आवद्ध भएका धेरै व्यवसायीलाई यति बेला भोट माग्न भ्याइनभ्याइ छ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सकिसकेको छ। यी पार्टीको महाधिवेशनमा पनि केही निर्माण व्यवसायीले विभिन्न पदमा उमेद्वारी दिएका थिए भने केही निर्वाचित समेत भएका छन्।
आज भइरहेको नेपाली कांग्रेसको महाधिवेशनमा पनि धेरै निर्माण व्यवसायीहरु भोट माग्नमा व्यस्त छन्। विभिन्न पदका लागि उनीहरुले उमेद्वारी दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कांग्रेसको जनजाति आदीबासीबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन् भने महासंघका पूर्व अध्यक्ष जिपछिरिङ लामाले खुला तर्फ केन्द्रीय कमिटि सदस्यमा उमेदवारी दिएका छन्।
त्यसैगरी महासंघका मानार्थ सदस्य बहादुर सिंह लामा तामाङले आदीबासी जनजादी तर्फबाट केन्द्रीय सदस्यमा, महासंघका मानार्थ सदस्य मोहन आचार्य खुला तर्फ केन्द्रीय सदस्य, महासंघको कार्यसमिति सदस्य रामदेवी खड्का महिला तर्फ केन्द्रीय सदस्य, महासंघका पूर्व कार्यसमिति सदस्य धर्मराज राई जनजादी तर्फ केन्द्रीय सदस्य, महासंघकी महिला समिति सदस्य भावना कुमारी शाही केन्द्रीय सदस्य र महासंघ एसोसिएट सदस्य गणेश लामाले खुला तर्फ केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएका छन्।
राजनीतिमा निर्माण व्यवसायीको बढ्दो चासो र पहुँचको निर्माण क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट विश्लेषण गर्न सकिन्छ। सडक, भवन र पुल बनाउनेहरुले देश बनाउन सक्दैनन् भन्न सकिन्न। यति चै भन्न सकिन्छ कि राजनीतिक शक्तिको दुरुपयोग नगरियोस। सबै उमेद्वारमा जितको शुभकामना।