काठमाण्डौं। पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन। कूल ४६ किमी लम्बाइको सडकमा हालसम्म ७० प्रतिशत प्रगति पुगेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जानकारी दिएको छ।
जग्गा प्राप्तिको विवाद, अदालती प्रक्रिया, रुख कटानमा लामो प्रक्रियाका कारण निर्माणमा लामो समय लागेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए। आव २०७२/७३ मा सडक निर्माण सुरु भएकामा सो ठेक्का अझै पूरा नभएको हो।
सो सडकको सुरु विन्दु (गल्छी) बाट ४६ किमी (मैलुङ) सम्म एउटै कम्पनी कोभ्यास/टुण्डी/रसुवा जेभीले निर्माण गरिरहेको छ। गल्छी–मैलुङ सडकमा अहिलेसम्म २१ किमी खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ। यो खण्डमा धेरै ठाउँमा अहिलेसम्म पहिलो तहको कालोपत्र भइसकेको छ। अहिलेसम्म २७ किमी पहिलो तहको कालोपत्र भइसकेको छ। बेस र सबबेसको काम ३० किमीमा भइसकेको छ।
उक्त सडकमा जग्गा प्राप्तिको समस्या धेरै भएकाले नै २०७२।७३ को ठेक्का अझै सम्पन्न हुन नसकेको योजनाले बताएको छ। अझै पनि आठ किमीमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले काम गर्न नसकिएको सूचना अधिकारी पाण्डेयले बताए।
मैलुङ–स्याफ्रुबेसी खण्डमा भने आधा समय सकिँदासम्म भौतिक प्रगति २५ प्रतिशत छ। जम्मा १९ किमी लम्बाइको सडक निर्माणका लागि विसं २०७७ साउनमा ठेक्का सम्झौता भएको थियो। ३० महिना अवधि दिइएकामा अहिलेसम्म आधा समय सकिएको सूचना अधिकारी पाण्डेयले बताए। अहिलेसम्म १२ किमी सडकमा ग्राभेल भएकाले त्यसमा पर्खाललगायतको संरचनाको काम भइरहेको छ।
योजनाको दोस्रो खण्डका रुपमा रहेको मैलु–स्याफ्रुबेसी सडकमा भने दोस्रो खण्डको निर्माण सुस्त छ। जग्गा नै उपलब्ध नभएकाले उपलब्ध चौडाइमा भएको निर्माण उपलब्धिमूलक भएको योजनाले जनाएको छ।
गल्छीबाट विदुरसम्म सडक कालोपत्र भइसकेको छ। सो खण्डमा पुलको काम थोरै मात्रै थोरै बाँकी रहेको योजनाले बताएको छ। त्यसभन्दा अघि पाँच किमी सडक निर्माण बाँकी छ। योजनाअन्तर्गत पर्ने ३२ पुलमध्ये आठ पुल सम्पन्न भइसकेको छन्।
योजना २०८० असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। अदालतमा रहेका खण्डको अन्तिम निर्णय चाँडो आउँदा तोकिएको समयमा निर्माण सकिने भए पनि मुद्दा लम्बिँदा नसकिने सूचना अधिकारी पाण्डेयले जानकारी दिए।
जग्गा प्राप्तिको समस्या सबैभन्दा बढी गल्छी–मैलुङ खण्डमा छ। मैलुङ–स्याफ्रुबेसीको दोस्रो खण्डमा जग्गा प्राप्तिको समस्या त्यति धेरै छैन। चिनियाँ पक्षले काम गर्ने सहमति भएको स्याप्रुबेसी–रसुवागढी खण्डमा भने टिमेरेमा मात्रै समस्या छ।
योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ। चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन्। भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन्।
सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ। स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ। गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ।