काठमाण्डौं। म्याग्दी जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ। गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु नभएको हो।
मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो। मङ्गला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माका अनुसार सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको छ।
बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ। बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ। बिच सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरेकाछन।
लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ।
बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुङ्गा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको जानकारी दिए। मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ।
समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातवटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए। हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।