गत असोजमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ कपनमा ढलले एक बालकलाई बगायो। १४ वर्षका ती बालकको ढलले बगाएर मृत्यु नै भयो।
असोज महिनामा नै काठमाडौँ नयाँ बस्तीमा ढलले बगाएर एक ४० वर्षीय महिलाको पनि मृत्यु भयो। बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी ती महिला चिप्लिएर ढलमा खसेकी थिइन्।
ढलले बगाएर १४ वर्षको बालक, ४० वर्षकी महिलाको मृत्यु हुनु अनौठो लागेन तपाइँहरुलाई? अरु नै देशका नागरिक हौँ र अनौठो लाग्न? नेपालमा यस्ता घटना स्वभाविक लाग्छ। हामी नेपाली बानि परिसक्यौँ।
यी घटना त उदाहरण मात्र हुन्। देशको संघीय राजधानी काठमाडौंमा यस्ता कैयौँ घटना छन् जसको कारण ढल बनेको छ। काठमाडौंका अधिकांश नालि तथा ढल व्यवस्थित नहुँदा शहर दुर्गन्दित त बनेको छ नै मानिसको ज्यानै जाने सम्मका घटना पनि घटिरहेका छन्।
पहिलो कुरा त काठाडौंका ढल बग्ने स्थल व्यवस्थित छैनन्। मान्छेको ज्यान लिन पासो थापिए झैँ देखिने ढलका नालाहरुले साँच्चै नै धेरैको ज्यान नै लिइसकेको छ। ढल बग्ने नालामाथि फालिने फोहोरको थुप्रोले झन समस्या माथि समस्या थुपारेको छ। बालबालिकाहरु यस पासोमा सजिलै पर्न सक्छन्।
ढल व्यवस्थापनमा भएका लापरबाहीकै कारण ठूला दुर्घटनाहरु भइसक्दा पनि अझै यसलाई व्यवस्थित गर्न सरोकारबालाको चासो गएको भने देखिँदैन। यति ठूला दुर्घटना भइसक्दा पनि जिम्मेवार निकाय मौन छ।
यस्ता दुर्घटना हुनुमा सरोकारबाला जति जिम्मेवार छन् दुर्घटनाका उतिकै भागेदार सर्वसाधारण पनि छन्। कडा कारबाहीको नियम नहुँदासम्म गर्न हुँदैन भन्ने थाहा पाएर पनि जिम्मेवार नबन्ने सर्वसाधारण, ढल बग्ने नालिमाथि फाहोर थुपार्ने सर्वसाधारण, दैनिक बाटो हिँड्दै पिच्छे नाक थुन्ने तर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल नगर्ने सर्वसाधारण पनि यस्ता दुर्घटनाका भागेदारी हुन् भन्दा कति फरक नपर्ला।
ज्यान जाने किसिमका दुर्घटना त देखिन्छ र आवाज उठाउन सजिलो होला। तर दैनिक त्यहि बोटो हिँड्ने मानिस नालाको दुर्गन्धले अप्रत्यक्ष रुपमा रोगको सिकार बनिरहेका छन्। नालामाथि ढल नै छेक्ने गरेर जम्मा गरिएका फाहोरका थुप्राले कुरुपता र प्रदुषण पनि उत्तिकै मात्रामा थपिरहेको छ। दुई महिनाअघि मात्र दुई जनाको ज्यान गयो, दैनिक सवारीसाधन ढलमा पस्छन्, बाटो हिँड्ने मानिस चिप्लिए भने ढलभित्र पुग्छन्, कहिले हिँड्दा हिँड्दै खुट्टा पस्छ नालिमा। यसले कति समस्या बनाएको छ त्यो दैनिक हिँड्डुल गर्ने सर्वसाधारणलाई राम्रो अनुभव होला।
ढल व्यवस्थापन गर्न अझै कति जनाको ज्यान जानुपर्छ ? अझै कतिजना कार्यालय जाँदा एक पटक ढलको नालिमा चोभिएर पुग्नुपर्छ ? कति पटक कति वटा मोटरसाइकल नालाभित्र पस्नुपर्छ ? प्रश्नहरुका चाङ छन् । कसले दिने जवाफ?