ताप्लेजुङ। कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले हाल सो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो।
कञ्चनजंघा हिमालभन्दा धेरै पर्यटक फक्ताङलुङमा जाने गरेको तथ्यांङ्क छ। कञ्चनजंघा हिमशृङ्खलामा नै रहेको यस हिमालको उचाइ ७७१० मिटर रहेको छ। केही समय अघिसम्म विदेशी पर्यटकले फक्ताङलुङ हिमाललाई (जन्नु) हिमालको रुपमा चिनेका कारण यस हिमालमा फाटफुट मात्रै विदेशी पर्यटक अवलोकनका लागि आउने गर्दथे। तर हाल स्वदेशी मात्र नभएर विदेशी पर्यटकको पनि आकर्षण बढ्दै गएको छ। त्यसैगरी यस हिमालको पहिलो आरोहण प्रयास सन् १९६२ मा भएको थियो।
यसैगरी फक्ताङलुङ हिमालको पहिचान अन्य हिमालका तुलनामा फरक रहेको छ। किँरात धर्मावलम्बीको पवित्र धार्मिकस्थलको रुपमा हाल यस स्थललाई किँरातीहरूले मारुम्तेम्बे, पारुम्बेतेम्बे भनेर धार्मिक स्थलका रुपमा पूजाआजा गरी बर्सेनि दर्शनका लागि तीर्थ आउने गर्दछन्। यस हिमालको फेदीलाई हाल धार्मिकस्थलको रुपमा परिचित गर्ने र त्यस स्थानमा भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सो क्षेत्रमा धार्मिक पर्यटक बढेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताएका छन्।
पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार फक्ताङलुङ हिमालको फेदीमा रहेको धार्मिकस्थल ४५०० मिटरको उचाइमा भएकाले जुनसुकै मौसममा त्यहाँ जान नमिल्ने भएकाले पर्यटकीय मौसम असोजदेखि मंसिरसम्म र फागुनदेखि वैशाखसम्म मात्र सो क्षेत्र अवलोकनको लागि जान मिल्ने बताइएको छ। लेलेपको सेकाथुमबाट तीन दिनको पैदल यात्रामा फक्ताङलुङ पुग्न हिमाल पुग्न सकिने जनाइएको छ। हाल सो क्षेत्रको विस्तारै प्रचारप्रसार भएसँगै नेपालीले पनि घुमफिरमा रुचि र समय दिन थालेका छन् जसले गर्दा हाल त्यहाँ पर्यटकको गतिविध बढ्दै गएको छ। अहिले सो क्षेत्रमा पर्यटकको सुरुआत मात्रै भएको र आगामी दिनहरुमा फक्ताङलुङ धार्मिक र प्राकृतिक पर्यटकीय हव बन्न सक्ने अध्यक्ष ताप्मादेनले बताएका छन्।
फक्ताङलुङ हिमालमा आउने पर्यटक तथा धर्मावलम्बीको लागि हाल धमाधम आवश्यक भौतिक पूर्वाधार पनि बन्ने क्रम जारी रहेको छ। यसैगरी उक्त स्थानमा धर्मावलम्बीलाई खान तथा बस्नका लागि भक्तशाला निर्माण भएको छ। गुरुआश्रम पनि निर्माण भएको छ। खान बस्नका लागि थप संरचना बनाउनका लागि र निजी लगानीमा होटल, चिया पसल पनि सञ्चालनको लागि थप कानुनी जटिलता फुकाएर सेवा सुविधा प्रदान गर्नका लागि प्रयास भइरहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले जानकारी दिएका छन्।
अबको केही वर्षमा यस क्षेत्रमा धार्मिक पर्यटकको चाप अत्यधिक मात्रामा बढ्न सक्ने भएकाले यस क्षेत्रको सेकाथुम, लामाटा, ठाङ्गेम, ग्याब्ला, फले, घुन्सा, हजारे, खम्बाचेनका होटल तथा चिया पसल व्यवसायीले पनि लगानी बढाएर सेवा क्षमतामा वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ रहेको छ। स्थानीय तह, कञ्चनजंघा संरक्षण क्षेत्र, पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण समिति र स्थानीयको सहकार्यमा यस क्षेत्रमा सञ्चार, विद्युत्, सहज बाटो, स्वस्थ्य सेवा, आवश्यक भौतिक संरचनाको निर्माण तथा प्रचारप्रसार गरेमा यस क्षेत्रको स्थानीय समुदाय, सरोकारवाला निकाय सबैको लागि उदाहरणीय धार्मिक पयर्टन क्षेत्र बन्ने विश्वास राखिएको छ।