तनहुँ। तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदी पुल तीन वर्षमा २५ प्रतिशत बनेको छ, । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुलको काम अलपत्र अवस्थामा पुगेको हो । विसं २०७७ चैत २३ गते पक्की पुलको शिलान्यास गरिएको थियो । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो ।
सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुन्थ्यो । पूर्वाधार विकास कार्यालय तनहुँले पुलको काम २५ प्रतिशत मात्रै भएको बताएको छ । सम्झौंतामा विसं २०८० जेठ ९ सम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । यो वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनले भने,‘चालु आर्थिक वर्षमा केही काम भएको थियो । तर अहिले पैसा सकिएर काम रोकिएको छ ।’
चालु आर्थिक वर्षमा काम नहुने र वर्षा सकिए लगत्तै काम सुचारु गरिने आचार्यको भनाइ छ । उनका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको आचार्यले बताए । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।
पुल निर्माणका लागि विसं २०७७ मंसिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । आचार्यका अनुसार हालसम्म आठ करोड बजेट निकासा भएको छ । एक सय ५४ मिटर लामो रहने पुलको चौडाई ९।५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँपालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको हो । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दुरी तय गर्नुपर्छ । तर अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटरको दूरी पनि छैन । त्यहाँ रहेको झोलुंगे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो ।
तर उक्त आदेश पूर्ण रूपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुंगे पुलबाट दुई पाङ्ग्रे सवारी साधन वारपार गर्दै आएको स्थानीयवासी दीपक थापाले बताए । झोलुंगे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको उनले बताए ।
स्थानीयवासीले वर्षौदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । काम सुरु हुँदा खुसी भएका यहाँका स्थानीयवासी अहिले कामले गति नलिँदा निराश छन् । लामो समयदेखि पुलको माग संघीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले सम्बोधन गरेको छ । कारोबार दैनिकबाट