जुम्ला। जुम्लाको धार्मिक पर्यटकीय गन्तव्य ठाकुरज्यूको पर्यटन प्रवर्द्धनका गर्न गुठिचौर गाउँपालिकाले पूर्वाधार निर्माणलाई अघि बढाएको छ । सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्येनजर गर्दै ठाकुरज्यू जाने सडकको पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो ।
कर्णालीका बढीमालिका, छायानाथ, ऋणमोक्ष, तिहारा, विष्टज्यू जस्तै ठाकुरज्यू पनि महत्वपूर्ण तिर्थ स्थल हो । यहाँ साउन पूर्णिमाको समयमा हजारौंको संख्यामा भक्तजन पुग्ने गर्छन् । बुढादेखि बच्चासम्म पुग्ने ठाकुरज्यूमा बस्ने राम्रो धर्मशाला, सडक बाटो नहुँदा निकै सास्ती हुने गरेको छ । विशेषगरी ठाकुरज्यूको प्रवर्द्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले भने,‘पर्यटन क्षेत्रको आर्थिक समृद्धि र रोजगारी सिर्जनाको मुख्य आधार हुन् । पालिकाले गुठिचौर उपत्यका, ठाकुरज्यूलगायतका क्षेत्रको प्रवर्द्धनमा लगानी बढाउनेतर्फ सोचिरहेको छ । सीमित स्रोतका कारण अत्यावश्यक क्षेत्रमा बजेट छुट्याउँँदा पर्यटन क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन ।’
गुठिचौरको लग्न हुदैँ ठाकुरज्यू जोड्ने सडकको गत साता अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्तिमल्ल भण्डारीले संयुक्त शिलान्यास गरेका थिए । कामको गुणस्तर, समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरीक्षणको कामलाई जोड दिइने उपाध्यक्ष भण्डारीले बताइन् । उनका अनुसार संघ र प्रदेशसँग गुठिचौरको पर्यटन प्रवर्द्धनका लागि बजेट माग गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीका अनुसार गुठिचौरको लग्ना हुदैँ ठाकुरज्यू जोड्ने सडक कुल २८ लाखमा निर्माण हुने छ । उनले उक्त सडक निर्माणपछि ठाकुरज्यूको पर्यटन प्रवर्द्धनमा इटा थपिने विश्वास व्यक्त गरे । सडक निर्माणको ठेक्का के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी–७ डोल्पाले पाएको छ । कुल एक करोडको ठेक्का आह्वान भए पनि निर्माण व्यवसायीसँग २८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गुठिचौरका प्राविधिक शाखा प्रमुख मीनबहादुर भण्डारीले बताए ।
उनका अनुसार लाग्नादेखि ठाकुरज्यूसम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुने भएको छ । पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तर वृद्धि गरेर ठाकुरज्यूसम्मको यात्रालाई सहज बनाउने पालिकाको लक्ष्य रहेको भण्डारीले बताए । संघीयतापछि स्थानीय सरकारले पर्यटन प्रवर्द्धनका क्षेत्रमा अपेक्षित लगानी गर्न सकेका छैन । आन्तरिक आम्दानी वृद्धि, रोजगारी सिर्जनाको मुख्य आधार पर्यटन भए पनि यसको प्रवर्द्धनमा स्थानीय तहको ध्यान पुगेको छैन ।
एकातिर गाउँ वस्तीबाट शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडकका योजना बढी माग हुने, अर्कोतिर कार्यपालिकाले आवश्यकतामा आधारितभन्दा भाग भण्डामा आधारित बजेट छुट्याउने भएकोले पर्यटन क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । तर जुम्लाको तातोपानी गाउँपालिकाले भने गिडिहलाई प्रवर्द्धन गर्न विभिन्न प्रयास गर्दै आएको छ । गिडिदहमै सम्मेलनदेखि दहको नाँपजाँच सार्वजनिक, पदमार्ग निर्माणलगायतका काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए । कारोबार दैनिकबाट