पोखरा। नेपालका नदीहरुमा पर्यटकलाई र्याफ्टिङ गराउने गाइडहरु यो समयमा पोखराको फेवाताल, सेती नदी सफा गर्न व्यस्त छन्। कोभिड १९ का कारण पर्यटक आगमन ठप्प भएपछि बेरोजगार बनेका पानीमा खेलिने शहासिक र्याफ्टिङ गराउने गाइडहरु बेरोजगार थिए।
जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत र्याफ्टिङ गाइडहरु गत ७ दिनदेखि फेवाताल र सेती नदीको सरसफाइमा जुटेको हिमालयन रिभर गाइड एशोसियसन पोखरा च्याप्टरका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।
व्यवसाय नै ठप्प भएको अवस्थामा जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत ३५ जना गाइडहरुले आफू नै र्याफ्टिङ गर्दै आएको सेती नदीको हेम्जाघाट बेसीदेखि पहिलो चरणमा यम्दीसम्म सरसफाइ गरेको अध्यक्ष पाण्डेले बताए।
पहिले र्याफ्टिङ चलाउँदा पनि सेती नदी, मादी नदीहरुमा फोहोर फ्याँक्दा पर्यटकले नरमाइलो मान्ने गरेको उनले बताए। र्याफ्टिङकै क्रममा नदी पनि सफा गर्ने गर्थ्यौं कोभिडले बेरोजगार बनेको अवस्थामा नदी र ताल सफा गर्ने काम पाउँदा खुशी लागेको अर्की र्याफ्टिङ गाईड सीता थापाले सुनाइन्।
पर्यटकीय शरह पोखराको प्रमुख आकर्षण हिमाल, ताल, नदी लगायत प्राकृतिक सुन्दरता रहेकोले संरक्षणमा बेलैमा ध्यान दिनु पर्ने गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रेमप्रसाद डोटेलले बताए।
पर्यटन बोर्ड र यूएनडीपीद्वारा साढे २० लाख डलर लगानीमा दिगो पर्यटन परियोजना सुरु भएको हो। यसअघि पथप्रर्दशकहरुले पनि यस्तै कार्यक्रम अन्तर्गत कास्कीको पदयात्रा मार्ग सफा गरेका थिए।
कोभिडको कारण बेरोजगार बनेका पर्यटन मजदुरलाई यस क्षेत्रबाट पलायन हुन नपरोस् भन्ने दृष्टिकोणले यो कार्यक्रम आएको युएनडिपीका प्रतिनिधि सुदिप अर्यालले जानकारी दिए।